म पनि पागल हुँदै छु कि ?

0
179

अर्जुन पोखरेल(संगितकार),काठमाण्डौँ –

समय अलिक प्रतिकूल थियो, सबैको मनमा डर त्रास सबैलाई खाद्यान्न किन्नकै चटारो । खासै नचलेका पसलहरूमा पनि भीडभाड । पसलेलाई बडा दसैं लागेको जस्तो । त्यही भीडमा उभिएको एक ग्राहक म पनि, कपाल दाह्री पालेका पाताला–पाताला खासै सफा नदेखिएका नयनराज शर्मा जसलाई ‘काका’ भन्छन् टोलभरि । छेउको चिया पसलमा चिया र चुरोट तान्दै कराई रहेका ‘न जनता गतिला छन् न नेता गतिला छन् ।

गतिलो त यो देश मात्र हो । संकटमा नेताहरू कमाउने अवसर देख्छन् । जनता भेडा जसरी चुपचाप हेरेर बस्छन् ।’ उनको कुरामा कोही हाँसिरहे कोही सुनेर बसिरहे । एक मान्छेले भने यी दाइको दिमाग बिग्रिएको छ । के–के भन्छन् भन्छन् म सामान किनेर घरतर्फ लागे ।

भोलिपल्टबाट लकडाउन सुरु भयो । १ हप्ता कतै निस्कन सकिएन । घरमै बसेँ । एक सातापछि घरमा तरकारीको खाँचै पर्‍यो । दूध, तरकारीलगायतका सामान किन्न म घरबाट निस्किन थालेँ । पसल निस्कँदा पसल अगाडि उसैगरी देखिन्छन् नयनराज काका । उही लयमा एकोहोरो कराइरहेका हुन्छन्, ‘२–३ फिट टाढा बसेर मात्रै केही लछारपाटो लाग्ने वाला छैन । जबसम्म तिम्ले पैसा सामान लेनदेन गर्दा प्रत्येक पटक स्यानिटाइजर लगाउँदैनौं भने तिम्ले पोको पारेको सामान र धेरै मान्छेले पालैपालो पैसा दिँदाचाहिँ संक्रमण हुँदैन र ? अलिक केयर गर ।’ यो सुनेर पसलकी साहुनी बोलिन ‘पागल काका कति कराइरहन सक्या चुप लाग्नु ।’

साहुनी काकाको कुरा त सही हो है । हामीले आफैं केयर गर्नुपर्छ । यति भन्दै म घरतर्फ लागे । घर आए, खाना खाए, छतमा गएर यसो बस्न के लागेको थिएँ, काकालाई पारिपट्टिको चौरमा देखेँ । लकडाउन समय बिताउन गाह्रो भइरहेको थियो, लागे तेतै ।

काका नमस्कार है, आराम हुनुहुन्छ ? मैले भेटपछि काकालाई आदरभावसँगै प्रश्न गरें । उत्तरसँगै प्रतिप्रश्न मिसाएर काकाले भन्नुभयो– ‘आराम छु म त । अर्जुन बाबुको के छ ?’ ओहो काकालाई मेरो नाम थाहा रहेछ मनमनै खुसी भए । कलाकारहरूका खुसी भन्नुनै अरूले चिन्नुमा हुने रहेछ ।

काकालाई लकडाउनले केही फरक पारेको छैन ? काकाले आफ्नो उही पुरानो शैली सुरु गरे, ‘मलाई त फरक पर्दैन बाबु कहिल्यै । न मलाई संसार जित्नु छ । न धन सम्पत्ति थुपार्नु छ । न बाबुलाई जसरी नाम कमाउने लोभ नै छ । राजाको सासन थियो पञ्चायत आयो, बहुदल आयो कांग्रेस, एमालेपछि माओवादी आयो । राजा फालिए संविधान आयो । भुइँचालो आयो । नाकाबन्दी भयो । अहिले कोरोना आयो । फरक भनेको ६०५ लाई हो । जसले हरेक घटनामा कमाउने अवसर देख्छन् । हरहमेसा कमाउनलाई सबै गौंडामा आफ्ना भक्तलाई उभ्याएका हुन्छन् । यी हाम्रा रामु दाजुलाई हेर्नुस् त धर्म कर्म गर्ने यतिका वर्षसम्म पनि खेत खनिनै रहन परेको छ ।  हेरत त्यहाँ के फरक पर्‍यो ? जनतालाई त झन–झन दु:ख छ । सुखको होइन दु:खको फरक भने छ ।’ काका एककोहोरो फलाकी रहे ।

मैले काकालाई सोधे– ‘फेरि अब के हुँदा सुखको फरकपन महसुस होला त जनतालाई ?’ काकाले गोजीबाट लाइटर निकाले । गोजीमै भएको चुरोटमा झोसे र चुरोटको सर्काे तान्दै, धूवा फाल्दै धूवा गएकै दिशातिर हेरिहे । यसपटक काकाको उत्तर सुन्न केही समय कुर्नुपर्‍यो । निक्कैबेरपछि काका बोले– ‘देशका आधा जनताले कुरै बुझ्दैनन् । तिनलाई स्थानीय स्तरका कार्यकर्ताले भेडा बनाउँछन् । स्थानीय स्तरकालाई प्रदेश जिल्लाकाले भेडा बनाउँछन् । अनि उच्च नेताहरूले प्रदेशकालाई । केही पढेका देश बाहिर छन् । केही यही छन् । यहाँ हुनेलाई आफैं नै देशमा हुनुप्रति वितृष्णा छ । नेताहरूप्रति वितृष्णा छ । त्यसैले केही हुनसाथ सामाजिक सञ्जामा सबै कुरामा आफू जान्नेछु जस्तो गरी प्रतिक्रिया लेख्छन् । त्यसैले त झन कन्फ्युजन गराउँछ । कहिकतै खबरदारी पनि गरिरहेका छन् । तर, जनताको खबरदारीलाई नेताले बुभिरहेका छैनन् अथवा भनौं बुझेर पनि टेरिरहेका छैनन् । शिक्षा, स्वाथ्य र सुरक्षामा राजनीतिक हस्तक्षेप छ । सबैले चाहेअनुसार काम गर्न पाउँदैनन् । लेखनाथ पौडेलको कबितामा भनिएझैँँ– ‘म खाउँ मै लाउँ सुखसयल वा मोज म गरुँ, मै बाँच, मै नाचु अरू सब मरुन दुर्बलहरू ।’

हो, यही सोच भएका नाथेहरूले देश हाँकी रहेछन् । हरेक समय दुर्घटनामा परिरहेछ देश । यी भ्रष्टहरूको सञ्जाल यति ठूलो छ, यो सञ्जाल खतम गर्न कि जंगबहादुर जस्तो आँटिलो जन्मिएर सबैलाई सिध्यान पर्‍यो । कि जनताहरू सबै मिलेर लखेटी–लखेटी महाकाली कटाउनुपर्छ । नत्र यी वनमारा जस्ता भएर मौलाउँदासम्म न नयाँ राम्रो बिरुवा उमार्न सकिन्छ न उम्रिएकालाई यिनले माथि आउँनै दिन्छन् । अचम्म यो छ कि जीवनको अन्तिम श्वास लिँदासम्म पनि आफ्नै स्वार्थमा अडिग हुन्छन् ।’

काका हजुरले देशका ठूला नेताहरूलाई यसरी अनेकभन्दा डर लाग्दैन हजुरलाई कारबाही गर्लान भन्ने ? मैले फेरि प्रश्न गरे । जवाफ अघि काका लामो हाँसो हाँसे र भने, ‘२ थरिका  मनिसहरूलाई यहाँ कारबाही हुँदैन । पहिलो जो सत्तामा छन्, जसको वरिपरि शक्ति छ । आफूलाई थाहा भएका नभएका कुराहरू बोलिरहेछन् । भ्रम पैदा गरिरहेछन्, खै कारबाही भएको  ? सरकारी धन र सुनका डल्लै डल्ला खानेलाई खै कारबाही भएको ? यहाँ ठूला नेताहरू मुछिएका कति काण्ड छ, खै कहाँ पुगे ? खिया लागेको धाराको टुटी चोरलाई कारबाही हुने हो यहाँ त, हरेक घटनामा अवसर देखेर कमाउन चुस्न पल्केकालाई खै कारबाही भएको ? यहाँ ठूलालाई कारबाही हुँदैन बाबु धेरैजसो चोर छन् । एक चोरले अर्को चोरलाई कारबाही कसरी गर्न सक्छ ? अब जनता भेडा हुनु भएन जनताले बुझ्न ढिला भइसक्यो ।’

लामो श्वास लिँदै काकाले अगाडि थपे, ‘२०४८ सालमा ठूला नेताको छोराको कुकर्मलाई पर्दाफास गरेपछि सहिसाप हुनबाट बन्चित मलाई दुर्गममा सरुवा गरेका थिए । त्यहाँ पुगेपछि पनि म राजनीतिक दलको गुलामी बिना रहन सकिन । त्यही बेलादेखि म सरकारको कारबाहीमा नपर्ने बर्गमा परेको छु ।’

म अलमल भए । फेरि प्रश्न गरें कसरी काका ? ‘न मेरो नाममा केही छ । न मलाई पुग्नु कहीँ छ । न मलाई कारबाही गर्दा कसैको चर्चा हुन्छ । ठूलो कुरात म यो देशको पागल वर्गमा पर्छु । पागलले भनेको कुराहरूको अर्थ हुन्छ र ? पागलको कुरालाई आधार मानेर कारबाही हुन्छ र ? तपाईं पनि संगीतमा मात्र लागेर हुँदैन बाबु उच्च पहुँच हुनेहरूसँग सम्बन्ध बनाउनुहोस्, कि मै झैँ पागल हुनुस् । बीचमा पर्नुभयो र चित्त नबुझेका कुराहरू बोल्न थाल्नुभो भने तपाईंको गला सुर्काउँछन् यिनीहरूले । तपाईंलाई तपाईंकै साथीहरूले साथ दिँदैनन । थुथुथु गर्दै भुइँमा थुकेर बर्बराउँदै काका बाटो लागे ।’

काका गएपछि मेरो भूत, वर्तमान र भविष्य एकै ठाउँमा पोको परेझै लाग्यो । सोचें सच्चा देशभक्तहरू पागल भएर, पागलहरू पो देश भक्त देखिँदै छन कि ? कि म पनि पागल हुँदै छु ? नाम जस्तै नयनराज काकाको नयनले देखेका राम्रा नराम्रा कुराहरू मेरो सरकारले कहिले देख्छ होला ? मलाई चिल्ला गाडीमा टकटकाउँदा भएर हिँडेका नेताहरूको अनुहार भन्दा नयनराज काकाको अनुहार, लामा फुलेका दाह्री, केश, मैला लुगाफाटो नै प्यारो लाग्न थालेको छ । मलाई पागल बनाउने नयानराज काका हो कि ? यो सरकार हो ? म मौन रहिरहे अब मेरो यात्रा कुन बाटोमा हुनेछ म सोचिरहेछु ।

साभार: साप्ताहिक पत्रीका

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here