सुरक्षित सहकारीद्धारा बिमा रकम हस्तान्तरण

0
24

रत्ननगर, साउन ३०- कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना बिमा वापतको रकम हस्तान्तरण गरेको छ ।

भ्रमणको क्रममा भारतको सिक्कीममा हिउपहिरोमा परी मृत्यु भएका संस्थाका शेयर सदस्य शिवप्रसाद लामिछानेको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले शिवप्रसाद लामिछानेकी धर्मपत्नी सरिता लामिछानेलाई एक लाख रुपैया बराबरको चेक हस्तान्तरण गरेका थिए ।

सो अबसरमा संस्थाका अध्यक्ष लामिछानेले संस्थाले सबै शेयर सदस्यहरुको एक लाख रुपैया बराबरको दुर्घटना बिमा गरेको भन्दै सोही बमोजिम स्वर्गीय शिवप्रसादको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको बताए । त्यसैगरी संस्थाको सेवा क्षेत्र भित्र रहेका धु्रव लामिछाने र सीता लामिछानेका छोरा विगुल लामिछानेको उपचारको लागि संस्थाले आर्थिक सहयोग गरेको छ । सोही कार्यक्रममा संस्थाका अध्यक्ष लामिछानेले विगुलकी आमा सीतालाई ५ हजार रुपैया प्रदान गरेका थिए । रकम हस्तान्तरण कार्यक्रम संस्थाका सचिव लालुप्रसाद दाहालले संचालन गरेका थिए ।

२०६५ साल बैशाख १२ गते स्थापना भएको सो सहकारीको ४ हजार ९०२ शेयर सदस्य रहेका छन् । सहकारीले पदमपुर, लाहुरेचोक, बकुलहर चोक र भरतपुरको सिनर्जीचोकमा शाखा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । सो सहकारीले आर्थिक करोबरसंगै शेयर सदस्यको हितका लागि सन्ध्याकलिन सेवा, मोबाइल बैंङकिङ, दुर्घटना बिमा, शेयर सदस्यको मृत्यु हुँदा राहत रकम, रेमिट सेवा, क्यूआर कोर्ड, विद्यार्थीलाई छात्राबृत्ती, वृद्धबृद्धालाई ज्येष्ठ सदस्य भत्ता, असल कर्जा कारोबारी सदस्यहरुलाई गीनकार्ड, सुपर ग्रीन कार्ड लगायतका अतिरिक्त सेवा प्रदान गर्दै आएको छ ।