भरतपुर , असोज १० – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली पत्रकारिताले सँधै अग्रगमनलाई साथ दिएको बताएका छन् ।
प्रेस सेन्टर चितवनले आज आयोजना गरेको दशैँ, तिहारलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली प्रेस जगतले जनयुद्धका बेला पनि साथ दिएको बताए ।
नेपाली पत्रकारिताले सँधै अग्रगमनलाई साथ दिने ट्रेण्ड रहेको बताउँदै उनले जनयुद्धलाई शान्तिमा ल्याउन पनि प्रेस जगतले ठूलो आधार निर्माण गरेको बताए । अबको दशक आर्थिक क्रान्तिको दशक हुने उनले बताए । प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने खतरा रहने भन्दै उनले भने, ‘परिवर्तन उल्ट्याउन ठूलो शक्ति आउँछ ।
संसारभर त्यस्तै छ, नेपाल मात्र अपवाद छैन ।’ प्रतिगमनकारीले पनि जनमत बटुल्ट झुट प्रचार गर्ने र जनतालाई दिग्भ्रमित पार्ने काम गर्ने भन्दै उनले परिवर्तनको रक्षा गर्ने लोकतान्त्रिक शक्तिले पनि निरन्तर कसरत गरिरहने बताए । ‘अहिले पनि एकथरी तत्वहरु संविधानलाई के गरी उल्ट्याइदिने होला, गणतन्त्रलाई कसरी कमजोर बनाउने होला । पार्टी र नेताहरुलाई कसरी बदनाम गर्ने होला भनेर लागिरहेका छन्’, उनले भने ।