रत्ननगर , असोज १० – कामना बचत तथा ऋण सहकारी संस्था लि. १४औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
पूर्वी चितवनका विभिन्न ठाउँमा रहेका सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरी आइतवार रत्ननगरमा साधारण सभाको अन्तिम कार्यक्रम गरिएको हो ।
वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माले बार्षिक प्रतिवेदन,नीति तथा कार्यक्रम,सचिव सुर्यप्रसाद लामिछानेले प्रगति प्रतिवेदन,कोषाध्यक्ष टेकनाथ अधिकारीले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक सन्दीप बराकोटीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको बन्दसत्रले उल्लेखित प्रतिवेदन पारित गरेको व्यवस्थापक ओमप्रकास गुप्ताले जानकारी दिए । कार्यक्रममा एसइईमा उत्कृष्ट अंक ल्याउने र बृद्ध शेयर सदस्यलाई सम्मान गरिएको उनले जानकारी दिए । साधारण सभामा कोषाध्यक्ष अधिकारीले गत आर्थिक वर्षमा दुई करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको जानकारी दिए । आगामी वर्ष दुई करोड ५१ लाख नाफा गर्ने लक्ष्य लिइएको उनले बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष गुरुप्रसाद अधिकारी,शेयर सदस्य हरिहर रिजाल लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीतादेवी शर्माले स्वागत मन्तव्य राखेका थिए ।