सपना भिलेजद्वारा बाढी प्रभावितलाई खाद्यान्न वितरण

0
71

रत्ननगर,साउन ४- सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले बाढी प्रभावितलाई खाद्यान्न वितरण गरेको छ् । रत्ननगर नगरपालिका वडा नं ७ र ८ का बाढी प्रभावितलाई सोमबार खाद्यान्न वितरण गरिएको हो । इम्प्याक्टले वडा नं ७ का ४४ र वडा नम्बर ८ का २६ घरधुरीलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।

दुई वडाका ७० घरधुरीलाई २० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, १ पोका नुनका दरले खाद्यान्न वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । गत असार १७ गते बुढीराप्ती खोलामा आएको बाढी पसेर डुबानमा परेका वडा नम्बर ७ लौखानी र वडा नं ८ को रमाइलो सुकुमवासी बस्तीका विपन्न परिवारलाई राहत वितरण गरिएको गिरीले बताए ।

घरमा अन्न सकिएर भोक भोकै बस्ने अवस्था आए पछि सम्वन्धित वडा कार्यालयको आग्रहमा राहत वितरण गरिएको हो । कार्यक्रममा वार्ड नम्बर ७ का वडा सदस्यहरु जियनी महतो, भवन्ती माझि, सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेत, भिलेजका कर्मचारी अनिल अर्याललगाएतको उपस्थिती रहेको थियो । त्यस्तै सपना भिलेजले अपाङ्गता भएका जिरौना निवासी रुद्र पाण्डेलाई ह्विलचियर प्रदान गरेको छ ।