दुनाटपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

April 30, 2024
- ADVERTISEMENT -

ढोरपाटन (बागलुङ), वैशाख १८- बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । उहाँ अहिले हरेक दिन उद्यमशील महिला मगर सङ्घले सञ्चालन गरेको दुनाटपरी उद्योगमा बिताउनुहुन्छ ।

अचेल उहाँलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । दुई महिनाअगाडि उद्यमशील महिला मगर सङ्घले सञ्चालन गरेको दुनाटपरी उद्योगमा अर्धबैँसे र वृद्ध महिलाहरु भेटिन्छन् । उद्योगमा कोही टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ । 

उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलालाई भ्याइनभ्याइ छ । गत फागुनदेखि सञ्चालनमा आएको उद्योग महिलाहरुको गतिलो आयस्रोतको माध्यम बन्न थालेको छ । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गएका सालका पातले पनि बजार पाउन थालेको छ । उद्योगमा २८ महिला आबद्ध छन् । विसं २०७६ देखि महिलाहरुले सङ्गठित भएर बङ्गुरपालन थालेका थिए । 

महिलाहरुले अघिल्लो वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण छ सय बङ्गुर मरेपछि दुनाटपरी उद्योग सञ्चालन गरेका हुन् । बङ्गुर मर्दा रु १५ लाख बढी नोक्सानी भएको थियो । उनीहरु बिहान–बेलुका घरको काम गर्ने र फुर्सदको समय टपरी बुन्ने गर्छन् । महिलाहरुले सुरुआती चरणमै दुई महिनाको अवधिमा करिब रु दुई लाख आम्दानीसमेत गरेका छन् । 

भद्रकलीले छोरी, बुहारी र नातिहरुसँगै दिनभर उद्योगमै बसेर टपरी बुन्नुहुन्छ । सुख, दुःखका मन्थन गर्दागर्दै दिन बितेको थाहै नहुने उहाँले बताउनुभयो । दुनाटपरी बुन्दा समस्या नहुने हुँदा उद्योग र यहाँ काम गर्ने महिलाहरु आफ्नो सारथी बनेको भद्रकलीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “दिनदिनै मोबाइल चलाउँदा आँखा दुख्ने, टाउको दुख्ने हुन्थ्यो, दिनभर घरमा बस्दा बस्दा दिक्क लाग्ने गथ्र्यो, अहिले यहाँ (उद्योगमा) धेरै नानीहरु आउँछन्, उनीहरुसँग कुराकानी गरेर टपरी बुन्छु, दिन बितेको थाहै हुँदैन, नानीहरुले धेरै राम्रो काम गरेका छन्, म बूढीमान्छे पनि आबद्ध भएको छु, काम गर्न त सक्दैन, त्यही पनि दुई÷चारवटा टपरी बुन्छु, मेरो लागि त दिन बिताउने आधार बनेको छ, आम्दानी पनि हुन्छ ।”

सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो । धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रयोजनमा समेत प्रयोगमा आउन थालेको छ । उद्योगमा आबद्ध सदस्य दिलमाया काउचाले नयाँ कामको सुरुवात भएको हुँदा सिक्दै स्वरोजगार बन्दै गरेको बताउनुभयो । उद्योग सञ्चालनमा नआउँदा यतिकै घरमा बस्ने गरेको भन्दै अहिले दैनिक उद्योगमा आएर काम गर्ने गरेको उहाँको भनाइ छ । 

“सुरुआती चरणमा छौँ, अहिलेसम्म त धेरैले राम्रो भन्नुभएको छ, वनजङ्गलमा पुगेर पातहरु ल्याउँछौँ, बर्खाका लागि पनि अहिले नै पात ल्याएर गोदाममा राखेका छौँ, पानी प¥यो भने पात पाइँदैन पाइए पनि कुहिन्छ”, काउचाले भन्नुभयो, “उद्योगमा लागेपछि आयस्रोत पनि हुने भयो, पहिले टपरी बुन्नका लागि सिकेका थियौँ, अहिले आफैँ गर्न सक्ने भयौँ, महिला दिदीबहिनीहरु एक जुट भएपछि यो काम गर्न सहज भएको छ, बिस्तारै फस्टाउँदै जाने विश्वास दिएका छौँ ।”

महिलाहरुले करिब रु तीन लाखको लागतमा दुनाटपरी बनाउने मेसिन ल्याएका छन् । बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग निकै बढेको उद्यमशील महिला मगर सङ्घकी अध्यक्ष बलकुमारी पुनले बताउनुभयो । दुनाटपरीलाई रु तीनदेखि रु आठसम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ । विसं २०७५ मै महिलाहरु एकताबद्ध भएर सिर्जनात्मक काम गर्दै आएकामा फागुनदेखि व्यावसायिक रुपमा दुनाटपरी उत्पादनमा लागेको अध्यक्ष पुन बताउनुहुन्छ । 

खासगरी धार्मिक स्थल, पूजाआज गर्ने ठाउँ र सार्वजनिक कार्यक्रम हुने ठाउँबाट दुनाटपरीको माग आउने गरेको उहाँको भनाइ छ । उद्योग सञ्चालनमा आएको दुई महिनामै धेरै ठाउँबाट मागसँगै हौसल थपिँदै गएपछि काम गर्न ऊर्जा थपिएको अध्यक्ष पुनले बताउनुभयो । उद्योगमा काम गर्ने महिलाहरुले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्नसक्ने उहाँ बताउनुहुन्छ । हाल बजारीकरणमा कुनै समस्या नभएको भन्दै आयातित प्लास्टिकका सामग्रीलाई प्रतिबन्ध लगाउन सके स्थानीय उत्पादनले बजार पाउनसक्ने पुनको भनाइ छ । 

अध्यक्ष पुनले भन्नुभयो, “उद्यमशील महिला मगर संघले पाँच वर्ष अगाडि बङ्गुरपालन गरेका थियौँ तर रोगले गर्दा सबै मरे, त्यस बेला हामीहरुले रु १६ लाखभन्दा बढी क्षति व्यहोर्नु प¥यो, त्यसपछि अहिले दुनाटपरी उद्योग सञ्चालन गरेका छौँ, राम्रो हुँदै गएको छ, बेरोजगार दिदीबहिनीहरुले रोजगार पाएका छौँ, अहिले जसरी माग आइरहेको छ, त्यो मागलाई पूर्ति गर्नका लागि अझै धेरै कामदार चाहिन्छ, यद्यपी हामीहरुले अलि बढी समय दिएका छौँ, घरको कामधन्दा सकाएपछि बल्ल यहाँ आउँछौँ, धेरै तिरबाट माग आउँदा निकै उत्साहित भएर काम गरि रहेका छौँ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -