चितवनका नेचर गाईडद्धारा ४ बुंदे माग सहित सरकारको ध्यानाकर्षण

0
296

चितवन, असार २६-

नेचर गाईड एशोसियसन चितवन, चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जंगल सफारी र सांस्कृतिक पर्यटन र सो क्षेत्रको संरक्षणमा काम गर्दै आएको नेचर गाईडहरुले ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज (शनिबार) सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेचर गाईड एशोसियसनले ४ बुंदे माग राख्दै सरकारका तिनै तहको ध्यानाकर्षण गराएको हो ।

सो संस्थाका अध्यक्ष राजेन्द्र धामीले नेचर गाईडहरुले चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई वन्यजन्तु संस्कृति, वन्यजन्तु र वातावरणको महत्व आदि लगायतका विषयहरुको जानकारी दिने काम गर्ने गरेको बताए । उनले नेचर गाईडहरुले पर्यटनमा मात्र आवद्ध नभई वन्यजन्तुको संरक्षण वातावरणको संरक्षण र चेतनामूलक कार्यमा आवद्ध भई संरक्षण तथा वातावरणको क्षेत्रमा सहयोग पुर्याई रहेको बताए । धामीले कोभिड महामारीका कारण पर्यटन क्षेत्रनै तहसनहस भएपछि त्यसको आधारमानै पर्यटनलाई घुमाएर खाने पेशा पनि बन्द भएकाले पेशानै जोखिममा परेको बताए ।

उनले तत्कालका लागि सरकारका तिनैतहसँग ४ बँुदे माग पेश गरेको जानकारी दिए । उनका अनुसार आफुहरुको पहिलो माग भनेको कोरोना बिरुद्धको खोप लगाउन पाउनु पर्ने रहेको बताए । उनले नेचर गाईड सफारी पर्यटनको पहिलो पंक्तिमा रहि काम गर्ने पर्यटनकर्मी रहेकाले र कोरोना भाईरसको जोखिम प्रत्यक्ष हुने तथा सफारी पर्यटन सञ्चालनका गर्नका लागि र पर्यटन सुचारु गर्नका लागि पनि खोप उपलब्ध गराउन सरकारसँग माग गरिएको बताए ।

त्यस्तै दोस्रोमा उनले नेचर गाईड पेशा पलायन हुनबाट जोगाउन, चितवनको सफारी पर्यटनको दक्ष जनशक्ति पलायन भई भविष्यमा सफारी पर्यटनमा हुने क्षतिलाई रोक्न वार्षिक नविकरण शुल्क मिनाहा गर्न माग गरिएको बताए ।

तेस्रोमा उनले नेचर गाईडहरु स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउने मात्र नभई चितवन राष्ट्रिय निकुञ्जको पेरीफेरीमा वन्यजन्तु संरक्षण र वातावरण संरक्षणको काम गर्दै आएकोले त्यस्ता गतिविधिमा नेचर गाईडलाई संलग्न गराई रोजगारी सृजना गरिदिन पनि आग्रह गरेका छन् ।

चौथोमा उनले नेचर गाईड पेशा मर्यादित र प्राविधिक बनाउनको लागि सरकारले जतिसक्दो चाँडो नेचर गाईड कार्य विधि बनाउन आग्रह पनि गरे ।

धामीका अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जमा पथ प्रदर्शकको कार्य गर्ने गाइडहरुको संख्या ७०० बढी छ । जसमा नेचर गाइड पेसा अगालेका करिब ५०० जना छन् त्यसमध्ये सौराहामा ४०० जना छन् भने १५० जना होटलमा गाइड अफिसमा र १०० स्वतन्त्ररुपमा काम गर्दै आएका छन् ।

राष्ट्रिय निकुञ्जको मेघौली, घटगाई, अमलटाँडी र माडीलगायतका ठाउँहरुमा १०० बढी रहेका छन् । पत्रकार सम्मेलनमा एशोसिएसनका पूर्वअध्यक्ष उदयचन्द्र अर्यालले गाइडको रोजगारी गुम्दा कतिपय नेचर गाइडले अन्य ज्यालादारी काम गरेर जिविकोपार्जन गरिरहेको बताए । पर्यटन गतिविधि सञ्चालन भएको बेला उनीहरुले न्यूनतम २० हजारदेखि अधिकतम ७० हजारसम्म मासिक आम्दानी गर्थे । हात्ती सफारी बाहेक अरुमा नेचर गाइडको आवश्यकता पर्छ ।

पर्यटन व्यवसायी टिकाराम गिरी प्रकृति बुझेको, वनवन्यजन्तु बुझेका गाइडहरुले राम्रो आम्दानी गर्ने गरेको बताउँछन् । गिरीका अनुसार काममा दक्ष गाइडले दैनिक एक हजार ८०० सम्म पाउँछन् ।

सो संस्थाका पूर्व अध्यक्ष उदय चन्द्र अर्यालले गाईड पेशामा लागेकाले सिजनको समयमा २० देखि ७० हजार सम्मको आम्दानी गर्ने गरेको बताए । उनले सो पेशामा लाग्नको लागि ५ देखि १५ दिनको तालिम लिएर निकुञ्जले दिएको प्रमाण पत्रको आधारमा निकुञ्जबाटनै वार्षिक २ हजार तिरे पछि गाईडको परिचय पत्र बन्ने गरेकोमा अब भने सरकारले सिटिइभिटीमा गाईड कोर्षलाई पनि सुरु गरे राम्रा र दक्ष गाईडको जन्म हुने जिकिर गरे ।

उनले कोरानाको महामारीमा गाईड परिचय पत्र नविकरण गर्दा २ हजार लिने गरेकोमा सो शुल्क छुट दिन निकुञ्ज प्रशासनलाई आग्रह पनि गरे । उनले चितवनको अथवा सफारी पर्यटनको पर्यटकीय गतिविधिहरुमा पहिलो पंक्तिमा रही कार्य गर्दै आएको बताए ।

उनले कोरोना माहामारीका कारण चितवनको पर्यटन र पर्यटनसँग सम्बन्धित गाईडहरुपनि विगत २ वर्ष देखि प्रभावित रहेकाले त्यसबाट रोजगारीनै गुमेको बताए । अर्यालले कोभिडका कारण नेचर गाईडहरु पलायन भैरहेको अवस्थामा नेचर गाईड पेशा सफारी पर्यटनको मुख्य जनशक्ति रहेको र दक्ष नेचर गाईड पलायन भएमा सौराहाकोनै सफारी पर्यटन प्रत्यक्ष रुपमा प्रभावित हुने भएकाले नेपाल सरकारको तीनै तहलाई विभिन्न माग सहित ध्यानकर्षण तथा अपिल गरिएको बताए ।

कार्यक्रममा सो संस्थाका सचिव ओम प्रकाश थापा, कोषाध्यक्ष भोजराज खतिवडा, कार्य समिति सदस्य ईश्वर बोगटी, सल्लाहाकार टिकाराम गिरी, नेचर गाईडहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।