एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको भरतपुर अस्पताललाई ४ लाख रुपैयाँ बराबरकोअक्सिजन सहितको सिलिण्डर सहयोग

0
183

चितवन, जेठ २–

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ ।

आज (आइतबार) अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरन पौडेलले सो अक्सिजन अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीलाई हस्तान्तरण गरे ।

अहिलेको महामारीमा मात्र नभई दिर्घकालिन रुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरि अस्पताललाई सहयोग गरिएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘अहिले अक्सिजन नपाएर अस्पतालमा बिरामी भर्न हुन कठिनाई भइरहेको समाचारहरु आउँदा निकै दुःख लागेको छ’ प्रवन्ध निर्देशक अधिकारीले भने ‘यस्तो बेला हामीले सकेको अक्सिजन सहयोग गरेका हौँ ।’उनले भरतपुर–१ रामनगरमा रहेको स्वर्गद्धारी ग्यास उद्योगबाट अक्सिजन सिलिण्डर खरिद गरी भरतपुर अस्पतालमा सहयोग गरिएको बताए । ‘सरकारी अस्पतालमा विपन्नदेखि सबैप्रकारका परिवारका बिरामीहरुको उपचार हुन्छ, सामान्यस्तरका जनता अक्सिजन नपाएर मर्न नपरोस् भनेर सहयोगलाई अगाडि बढाएका हौँ ।’ प्रवन्ध निर्देशक अधिकारीले हस्तान्तरण गरिएको सिलिण्डरमा पुनः एक पटक रिफिलको खर्च पनि एक्सपर्टले नै व्यहोर्ने जानकारी दिए ।

अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले एक्सपर्टले गरेको यो सहयोग अतुलनीय रहेको बताए । ‘यस्तो महामारीको बेला एक्सपर्टले अक्सिजनसहितको सिलिण्डर नै सहयोग गर्नु ठूलो कुरा हो, यसले अस्पतालमा भर्ना भएका बिरामी अक्सिजन नपाएर कुनै समस्या व्यहोर्न पर्दैन’–डा.अधिकारीले भने । उनले आगामि दिनमा अझै एक्सपर्टबाट यस्तै सहयोगको अपेक्षा गरे ।

यस्तै अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीले अहिलेको बेला सिलिण्डर पाउनै मुश्किल भएको बेला एक्सपर्टले सहयोग गर्नु सह्रानिय कार्य भएको बताए । उनले सिलिण्डरसंगै रिफिलको व्यवस्था समेत गरेकाले एक्सर्टलाई धन्यवाद व्यक्त गरे ।

सो कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

अष्ट्रेलिया लगायत वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सर्टले शैक्षिक क्षेत्रसंगै सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आइरहेको छ । विभिन्न समयमा आइपर्ने विपत्को बेलामा एक्सपर्टले नगदसंगै विभिन्न सहयोगहरु गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्