रत्ननगर,बैशाख ६- पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५, विन्देश्वरी टोल, माधवपुरमा भोली सोमबारदेखि ‘श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ’ सुरु हुँदैछ।
कृषि, विज्ञान तथा प्राविधिक कलेज स्थापना गर्ने उद्देश्यसहित थ्रि ब्रदर्श मिडियाले महायज्ञ आयोजना गरेको हो।
आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। महायज्ञको उद्घाटन प्रदेश सभा सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले गर्ने कार्यक्रम तय भएको छ।
- ADVERTISEMENT -

उद्घाटनअघि सोमबार बिहान माधवपुर क्षेत्रमा भव्य कलशयात्रा निकालिने आयोजकले बताएको छ।
- ADVERTISEMENT -

थ्रि ब्रदर्श मिडियाका सञ्चालक तथा कलेज निर्माण अभियान्ता फणिन्द्र लामिछानेले आफूले प्रकाशन गरेको ‘गाउँ आएको मोटरबाटो’ उपन्यास बिक्रीबाट संकलित रकमसमेत कलेज स्थापनाका लागि उपयोग गरिने बताए। “धेरै दुःख गरेर प्रकाशन गरेको उपन्यास बिक्रीबाट प्राप्त रकमले कलेज स्थापना गर्ने लक्ष्य लिएको छु,” उनले भने, “महायज्ञबाट संकलित रकमले पूर्ण निर्माण सम्भव नभए पनि आधारशिला तयार हुनेछ।”
- ADVERTISEMENT -

उनका अनुसार करिब तीन करोड रुपैयाँको लगानीमा कृषि, विज्ञान तथा प्राविधिक कलेज स्थापना गर्ने योजना छ। कलेज स्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारसँगै विदेशमा रहेका नेपाली समुदायसँग पनि सहयोगको अपिल गरिनेछ।
ग्रामीण क्षेत्रमा यस्ता कलेजको अभावका कारण विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न शहर धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै लामिछानेले गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले कलेज स्थापना गर्न लागिएको बताए।
महायज्ञमा चर्चित कथावाचक पण्डित चैतन्य कृष्णले कथा वाचन गर्ने कार्यक्रम रहेको छ। फलफूल तथा तरकारी विषयलाई प्राथमिकतामा राख्दै बीएस्सी एजी (BSc Ag) सम्मको अध्ययन हुने कलेज सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ।














































