सिलिण्डर ग्याँसको सुरक्षित प्रयोगबारे प्रयोगात्मक प्रशिक्षण

May 6, 2024

चितवन,बैशाख २४- चितवनको रत्ननगरका विपन्न तथा सुकुमबासी समुदायलाई सोमबार भान्स कोठामा प्रयोग गरिने सिलिण्डर ग्याँसको सुरक्षित प्रयोग सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

नारी जागरण केन्द्र रत्ननगरले वडा नं ३ अन्तर्गतको नमुना सुकुमबासी बस्तीका समुदायलाई ग्यासको सुरक्षित प्रयोग, आगलानीबाट बच्ने उपाय र प्राथमिक उपचार सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको केन्द्रकी महासचिव सरस्वती लामाले जानकारी दिइन् ।

वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले उद्घाटन गरेको कार्यक्रममा रत्नप्रिय क्लवका अध्यक्ष बसन्त रानाले ग्याँसको सुरक्षित प्रयोग, आगलानी बाट बच्ने उपाय र प्राथमिक उपचारका विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष खरेलले भान्साको सुरक्षाको लागि केन्द्रले आयोजना गरेको फलदायी कार्यक्रम उदाहरणीय रहेको भन्दै हरेक गृहिणीहरुले आगलानीबाट बच्ने उपाय र ग्याँसमा लागेको आगो निभाउने सुरक्षित तरिका सिक्न आवश्यक रहेको बताए ।

नारी जागरण केन्द्र रत्ननगरकी अध्यक्ष विमला सुवेदी खनालले हरेक घरको भान्छामा ग्याँसको सुरक्षित प्रयोगमा ध्यान दिनुपर्ने भन्दै रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताइन् ।

केन्द्रकी सदस्य शोभा शर्माले स्वागत मन्तव्य राख्नु भएको सो उद्घाटन कार्यक्रममा वडा सदस्य देवी सुनार, टोल विकास संस्थाका अध्यक्ष मानबहादुर बयरकोटी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ४० जना गृहिणीको सहभागिता रहेको थियो ।