गौशाला-२६ को जन्मदर्ता प्रमाणपत्र झिकाउन सन्दीपलाई उच्च अदालतको आदेश

April 15, 2024

काठमाडौँ,बैशाख ३- उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलप्रति माग गरेको छ ।

सन्दीप लामिछाने बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला-२६ को जन्मदर्ता प्रमाणपत्र मगाउन आदेश गरेको हो ।

गौशाला-२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएका पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले सोमबारदेखि सुनुवाइ थालेको हो ।

गएको पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो । तर, जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो ।

त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विरुद्धमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

उच्च अदालत पाटनले दुवै पक्षको पुनरावेदनलाई एउटै मुद्दामा राखेर सुनुवाइ थालेको छ । मुद्दाको पुनरावेदन प्रक्रियामा रहेकाले सन्दीपले हाल थुनाबाहिर बस्ने सुविधा पाएका छन् ।