राप्ति,पुस ६- राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायका बालबालिलका र तीनका अभिभावकलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ ।
नारी जागरण केन्द्र रत्ननगरले सो नगरपालिका अन्तर्गत वडा नं १२ स्थित वाक्राङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी तथा ७५ घरधुरीका समुदायलाई न्यानो कपडा वितरण गरेको केन्द्रकी महासचिव सरस्वती लामाले जानकारी दिइन् ।
- ADVERTISEMENT -

विद्यालयमा आयोजित कार्यक्रममा राप्तीका मेयर शमशेर लामा र केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले स्टेशनरी तथा न्यानो कपडा हस्तान्तरण गरेका थिए ।
- ADVERTISEMENT -

राप्ती नगरपालिकासंगको सहकार्यमा आर्थिक अभावका कारण जाडोमा लगाउने कपडा किन्न नसक्ने अबस्थाका चेपाङ समुदायको पहिचान गरी सहयोग गरिएको केन्द्रकी अध्यक्ष सुवेदीले जानकारी दिइन् । केन्द्रले दिएको न्यानो कपडा लिन चेपाङ समुदायका महिलाहरु दुधेबालक कोखमा बोकेर आएका थिए ।
- ADVERTISEMENT -

सो अबसरमा मेयर शमशेर लामाले नारी जागरण केन्द्रले चेपाङ समुदायका लागि गरेको सहयोग उदाहरणीय रहेको बताए । उनले चेपाङ समुदायको जीवन स्तर उकास्न स्थानीय सरकारले आयआर्जन, सीप विकास र शिक्षामा जोड दिएको बताए । उनले चेपाङ समुदायलाई उत्पादनसंग जोडिन आग्रह गर्दै बचत गर्ने, सरसफाईमा ध्यान दिने र आफ्ना लागि आफै गर्ने सोचको विकास गर्नुपर्ने बताए । मेयर लामाले नगरका विपन्न समुदायका लागि निःशुल्क स्वास्थ्य विमा, निःशुल्क रगत, निःशुल्क एम्बुलेन्स, विकट क्षेत्रमा स्वास्थ्यचौकी सञ्चालन तथा प्लस टु सम्म आबासीय सुविधा सहित शिक्षा प्रदान गरिरहेको बताए ।
- ADVERTISEMENT -

चेपाङ समुदायलाई लक्षित गरेर आबास निर्माणको कामलाई अगाडि बढाएको भन्दै उनले राप्तीका कसैलाई पनि आकासमुनीको बास हुन नदिने जिकिर गरे ।
कार्यक्रममा केन्द्रकी अध्यक्ष सुवेदी विपन्न समुदायका महिलाहरुको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम गर्दै आएको केन्द्र सीमान्तकृत समुदायलाई लक्षित गरी स्टेशनरी र न्यानो कपडा वितरण गरिएको बताए ।
कार्यक्रममा संस्थाकी निर्वतमान अध्यक्ष सपना बोहरा, कोषाध्यक्ष विभा डल्लाकोटी, सदस्यहरु निर्मला खड्का, कविता खनाल, माया तामाङ, शोभा शर्मा, विद्यालयका अध्यक्ष सुकबहादुर प्रजा, प्रधानाध्यापक राजेन्द्र प्रजा, शिक्षक अभिभावक संघका अध्यक्ष सुर्य प्रजा लगायतको उपस्थिति रहेको थियो ।
नारी नागरण केन्द्रले महिला सशक्तिकरण, छोरी शिक्षा अक्षयकोष निर्माण, छात्राबृत्ती कार्यक्रम, विपन्न समुदायका महिलाहरुलाई सीप विकास, लागुऔषध दुव्र्यशनी न्यूूनीकरण तथा सचेतनामुलक कार्यक्रम गर्दै आएको केन्द्रकी अध्यक्ष सुवेदीले जानकारी दिइन् ।
गत बर्ष कालिकाका सुकुमबासी बस्तीका समुदायलाई लत्ता कपडा र स्टेशनरी दिएको केन्द्रले यस बर्ष राप्तीका चेपाङ समुदायलाई सहयोग गरेको हो ।