रत्ननगर,मंसिर २०- रत्ननगर नगरपालिका वडा नं–४ को कार्यालय तथा वडास्तरीय मेलमिलाप समितिको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत एकदिने अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न भएको छ ।
वडाभित्रका महिला समूह, महिला उद्यमी टोलविकास संस्थाका प्रतिनिधि महिलाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वडा मेलमिलाप केन्द्रका संयोजक लक्ष्मी चौधरीले गरेकी थिइन् ।
- ADVERTISEMENT -

वडामा लैङ्गिक हिंसाका घटना शून्यमा झार्ने गरी वडाले काम गरिरहेको वडाध्यक्ष रामकुमार चौधरीले बताए । वडाभित्र बालविवाह नभए पनि कहीँकतै घरपरिवारको झैझगडा भने हुने गरेको र यसलाई पनि मेलमिलाप केन्द्रमार्फत मिलाएर वडामा हुने सबैखाले हिंसाको अन्त्य गर्नेगरी काम गरिरहेको उनले बताए ।
- ADVERTISEMENT -

रत्ननगरमा लैङ्गिक हिंसाका खासै ठूला घटना नभए पनि ससाना घटना हुने गरेको र त्यसलाई रोकथाम गर्न नगरपालिका लागिरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख महिला विकास अधिकृत दीपा घिमिरेले बताइन् ।
- ADVERTISEMENT -

उनले कोही कसैलाई केही असहज भएमा वा हिंसा भएको महसुस भएमा नगरपालिकाको महिला शाखा वा नजिकको प्रहरी कार्यालयमा खबर गर्नसमेत सुझाव दिइन् । हिंसामा परेकाहरुलाई निःशुल्क परामर्श दिने भएकाले निर्धक्क भई कानुनी बाटोमा लाग्न पनि घिमिरेले सुझाव दिइन् ।
- ADVERTISEMENT -

अभिमुखीकरण कार्यक्रममा इलाका प्रहरी कार्यालयका वरिष्ठ नायक निरीक्षक गोविन्द परियारले पछिल्लो घटनाक्रम र लैङ्गिक हिंसाका बारेमा प्रशिक्षण दिएका थिए । साथै उनले प्रहरी कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका विषयमा जानकारी दिएका थिए ।