रत्ननगर,असोज २२ – रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वार्षिक झन्डै दुई करोड मुनाफा गर्न सफल भएको छ । सो संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ८४ लाख ४९ हजार ४८४ रूपैयाँ मुनाफा गर्न सफल भएको हो ।
सोमबार आयोजना गरिएको सो संस्थाको १४औँ वार्षिक साधारण सभामा कोषाध्यक्ष सरस्वती लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा पाँच करोड २३ लाख ४१ हजार ८१० आम्दानी भएकोमा तीन करोड ३८ लाख ९२ हजार ३२६ खर्च कटाएर एक करोड ८४ लाख ४९ हजार ४८४ रूपैयाँ मुनाफा भएको जनाइएको छ । सो संस्थाले पानी महसुलबाट मात्रै चार करोड ६९ लाख ९६ हजार ८६४ रूपैयाँ अम्दानी गरेको छ । अन्य स्रोतबाट ५३ लाख ४४ हजार ९४६ रूपैयाँ आम्दानी गरिएको जनाएको छ ।
- ADVERTISEMENT -
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष माधव अर्यालले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा उनले आगामी आर्थिक वर्षमा रातो कार्ड भएका अपाङ्गलाई निःशुल्क, भूमिहीनलाई ५० प्रतिशत छूट दिई किस्ताबन्दीमा धारा जडान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
- ADVERTISEMENT -
आगामी आर्थिक वर्षका लागि नौ करोड ८६ लाख ६५ हजार बजेट प्रस्तुत गरेका अध्यक्ष अर्यालले ५५० उपभोक्ता थप गर्ने लक्ष्य रहेको जानकारी दिए । उपमेयर यादवप्रसाद पाठकले जलवायु परिवर्तनले खानेपानीको मुहान सुक्दै गएको भन्दै स्रोत संरक्षणमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।
- ADVERTISEMENT -
मेयर सापकोटाले खानेपानी मानवजीवनलाई नभई नहुने भएका कारण स्वच्छ खानेपानीका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए । पानीको मुहान संरक्षण, वितरण प्रणालीमा सुधार र स्रोत संरक्षणमा लगानी गर्न आफू तयार रहेको उनको भनाइ छ । पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले खानेपानीमा आयकर लगाउने सरकारको निर्णय गलत रहेको भन्दै फिर्ता लिन आग्रह गरे ।
- ADVERTISEMENT -
रत्ननगरका १३ वटा वडामा खानेपानी वितरण गर्दै आएको सो संस्थाले संस्थागत धारा जडान १५८, सामूहिक धारा २५६, विपन्न वर्गको धारा ९०५ र निजी धारा १२ हजार ७६६ गरी १४ हजार ८५ उपभोक्ता रहेका छन् । संस्थाले दैनिक एक करोड २५ लाख लिटर पानी वितरण गर्दै आएको संस्थाका सचिव प्रताप डल्लाकोटीले जानकारी दिए ।
साधारण सभाको बन्द सत्रमा सचिव डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन र लेखा संयोजक जीवन नगरकोटीले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा उत्कृष्ट उपभोक्ता तथा कर्मचारी, निवर्तमान कार्यसमिति र लेखा समितिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख सुन्दर सुवेदी, संस्थाका पूर्वअध्यक्ष महेशप्रसाद रौनियार, नेपाली कांग्रेसका नगर उपसभापति कमलनाथ अधिकारी, एमालेका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, एकीकृत समाजवादीका नगर उपाध्यक्ष रामहरि अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए।