हङकङ – हङकङमा रहेका नेपाली पछिल्लो समय आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन थालेका छन् भने यसले नयाँ पुस्तालाई पुर्खाको थलोप्रति आकर्षित गरिरहेको छ।
हङकङको एउटा फेशन म्यागजिनमा ‘क्रिएटिभ राइटर’का रुपमा कार्यरत छिन्, नङसाङ लावती। यो म्यागजिन हङकङको क्यान्टोनिज भाषामा छापिन्छ। यो म्यागजिनमा प्रवेश गर्नुअघि लावतीले हङकङ विश्वविद्यालयबाट पत्रकारिताकामा स्नातक गरेकी हुन्।
- ADVERTISEMENT -

उनी क्यान्टोनिजसँग अंग्रेजी भाषामा पनि पोख्त छिन्। हङकङमै जन्मे हुर्केकी लावतीले चिनियाँ माध्यममा पढाइ हुने विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेकी हुन्।
- ADVERTISEMENT -

स्थानीय भाषा बोलाइ र लेखाइमा हङकङका चिनियाँ विद्यार्थीभन्दा कुनै हिसाबले कम छैनन्। क्यान्टोनिज र अंग्रेजी भाषामा सजिलै बोल्न र लेख्न सक्ने उनलाई नेपाली भने आउँदैनथ्यो। त्यसको खासै वास्ता पनि थिएन।
- ADVERTISEMENT -

उच्च शिक्षा पूरा गर्ने क्रममा जब लावतीलाई आफ्नो देश, समाज र परिवारको पहिचानबारे बोल्नुपर्यो, त्यसपछि भने अप्ठ्यारो भयो। आफ्नो भाषा नजानेकोमा निकै थकथकी लाग्यो।
- ADVERTISEMENT -

त्यसपछि उनी सुटुक्क शारदा गुरुङलाई भेट्न पुगिन्। गुरुङ हङकङमा रहेका नेपाली विद्यार्थीलाई नेपाली भाषा सिकाउँदै आएकी छन्। आफ्ना अभिभावकलाई थाहै नदिएर नेपाली भाषा सिक्न गएकी लावतीमा चाँडै प्रभाव देखिएको शिक्षिका गुरुङ सुनाउँछिन्। “दुई वटा भाषामा राम्रो दख्खल भएकाले होला, नङसाङले नेपाली भाषा बोल्न र लेख्न अपेक्षाकृत छिट्टै सिकिन,” शिक्षिका गुरुङ भन्छिन्।
लावतीले नेपाली र क्यान्टोनिज भाषाको संरचनासम्म केलाएर भाषा सिकेको उनी बताउँछिन्। “भाषा सिकेर नङसाङले नेपालमा रहेका आफ्ना साहित्यकार बुवालाई लामो पत्र लेखेर ‘सरप्राइज’ नै दिइन्,” गुरुङ भन्छिन्।
लावती त आफ्नै अग्रसरताले नेपाली भाषा सिकाउने कक्षामा पुगिन्। कतिपय नेपाली विद्यार्थी उनी जस्तै आफै नेपाली भाषा सिक्न पुग्छन्।। अहिले भने हङकङका नेपाली अभिभावक आफ्ना बालबालिकालाई नेपाली भाषाको ट्युसन कक्षासम्म पुर्याउन थालेका छन्।
यस्तै एक हुन्, धर्मराज राई। उनी आफ्नो छोरालाई नेपाली भाषा सिकाउन ट्युसन सेन्टर नियमित पठाइरहेका छन्। “यहीं जन्मिएर हुर्किरहेको मेरो छोरालाई नेपाली केही आउँथेन,” राई भन्छन्, “नेपाली नजान्ने भएपछि नेपाल जाने भनेपछि फिटिक्कै रुचि थिएन।” अहिले भने त्यसमा परिवर्तन आएको उनी सुनाउँछन्।
हङकङमा रहेका नेपाली बालबालिकाले स्थानीय क्यान्टोनिज र अंग्रेजीमै लेखपढ गर्छन्। अझ धेरै त अंग्रेजी नै रोज्छन्। विदेशमा रोजगारका निम्ति पनि अंग्रेजी नपढी हुँदैन। यससँगै हङकङको स्थानीय भाषा क्यान्टोनिज र मेन्डारिन पनि जान्नै पर्छ।
यसले गर्दा अधिकांश बालबालिकालाई नेपाली भाषा आउँदैन। मातृभाषा नजान्दा आफ्नो जरो नै पत्तो नपाउने हुनाले अभिभावकले नेपाली भाषा पढाउने तत्परता देखाउन थालेका छन्। पछिल्लो समय हङकङमा चलेको यो जागरणले नेपाली विद्यार्थीमाझ आफ्नो पहिचान पहिल्याउने जिज्ञासा बढेको शिक्षिका गुरुङ बताउँछिन्।
उनी पनि नेपाली भाषाको कक्षा बढाउँछिन्। अहिले १० जना विद्यार्थीले नियमित नेपाली कक्षा लिइरहेका छन्। “भाषा बिर्सिए संस्कृति बुझिँदैन। संस्कृति नबुझे आफ्नो पहिचान पहिल्याउने चेत हुँदैन भन्ने सोचाइँ धेरै नेपाली अभिभावक र विद्यार्थीमा देखिएको छ,” उनी भन्छिन्।
उनी सरकारी विद्यालय बेथल हाई स्कूलमा नेपाली विषय पढाउँछिन्। यससँगै नेपाली भाषाको ट्युसन सेन्टर खोलेकी छन्। नेपाली भाषाप्रति अभिभावक र विद्यार्थीको जागरुकतालाई देखेर नै ट्युसन सेन्टर खोली सस्तोमा पढाइरहेको उनी सुनाउँछिन्।
बेथल हाइ स्कूलमा पनि ८० जना विद्यार्थीले अनिवार्य नेपाली विषय पढिरहेका छन्। हङकङ सरकारले मान्यता दिएको नेपाली पाठ्यक्रम बमोजिम कक्षा १ देखि ६ सम्म अनिवार्य नेपाली विषय पढ्नुपर्छ।
हङकङमा बेथल जस्तै नेपाली पाठ्यक्रम पढाइ हुने सरकारी विद्यालय अरु पनि छन्। बेथल हाइ स्कूलबाट अहिलेसम्म नौ वटा ‘ब्याच’ले माध्यमिक तह उत्तीर्ण गरिसकेको छ। यसरी नेपाली भाषा सिकेपछि युवा विद्यार्थीलाई आफ्नो पुर्खाको देशप्रति चासो पनि बढ्न थालेको छ।
नेपाली भाषा पढ्न थालेपछि छोरालाई नेपालप्रति रुचि बढेको हङकङकमा बस्दै आएका धर्मराज राई बताउँछन्। यसले राईलाई खुशी पनि तुल्याएको छ। उनी छोरालाई नेपाल घुमाएको सुनाउँछन् “छोराले नेपाली भाषा सिकेपछि बजुको देश जाऔं भन्यो,” राई भन्छन्, “उसलाई पहाड लगेर गएँ। एक महीना केही गुनासो नगरि बस्यो। थुप्रै साथीहरू बनाएर फर्कियो।”
राई जस्तै हङकङमा रहेका नेपाली अभिभावक छोराछोरीलाई नेपाली पढाउन पाउँदा खुशी हुन थालेका छन्। यसले नयाँ पुस्तालाई आफ्नो देश र संस्कृतिसँग जोड्न सजिलो भएको शिक्षिका गुरुङ बताउँछिन्। हङकङमा देखिएको नेपाली भाषाप्रतिको मोहले आफूलाई पनि खुशी बनाएको बताउँदै उनी भन्छिन्, “हङकङमा रहेका नेपाली विद्यार्थी र अभिभावकको भाषाप्रतिको रुची राम्रो संकेत हो।”