जानकी (बाँके), भदौ ३१- बर्दियाका राजेन्द्र थारुको टाउकोमा ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ । उहाँ ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त हुनुहुन्छ । हाल उहाँ नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोका कृष्ण अधिकारीको घर बनाउने काममा खटिरहनुभएको छ ।
विगत १३ वर्ष देखि डकर्मीको काम गर्दै आउनुभएका राजेन्द्रलाई ऊर्जा प्रभावकारी घरबारे यसअघि केही थाहा थिएन । “धेरै वर्षदेखि घर बनाउने काम गर्दै आईरहेको छु, तर यो ऊर्जा प्रभावकारी घरको विषयमा मलाई थाहा थिएन”, उहाँले भन्नुभयो, “नेपालगञ्जमा ऊर्जा प्रभावकारी घर बनाउन तालिम खुलेको थाहा पाएपछि म सिक्न आएको हुँ ।”
- ADVERTISEMENT -

उमेरले ३० वर्षका राजेन्द्रलाई शुरुमा ‘ऊर्जा प्रभाकारी घर’ सुन्दा अनौठो लागे पनि तालिममा सहभागी भएपछि यस्तो घर बनाउन सजिलै सक्छु भन्ने लागेको छ । “शुरुमा त कस्तो हुन्छ जस्तो लागेको थियो तर सिक्दै जाँदा यस्तो घर बनाउन खासै गाह्रो नहुने रहेछ”, उहाँले भन्नुभयो, “मलाई त हामीले बनाइरहेको घरभन्दा ऊर्जा प्रभावकारी घर बनाउन सजिलो लाग्यो । अब सबैले यस्तै घर बनाउन आवश्यक छ ।”
- ADVERTISEMENT -

राजेन्द्रसँगै बर्दिया गुलरिया नगरपालिका–८ आशापुरका भगोलिया लोधले पनि तालिम लिइरहुन भएको छ । २२ वर्षको उमेरदेखि घर बनाउँदै आउनुभएका भगोलियासँग २५ वर्ष घर बनाउने काम गरेको अनुभव छ । तर, उहाँको २५ वर्षे अनुभवमा ‘ऊर्जा प्रभावकारी घर’ बनाउने अनुभव नयाँ हो ।
- ADVERTISEMENT -

“ऊर्जा दक्ष घरको विषयमा अहिले नेपाल सरकारले ल्याएको नीति ढिला भएको छ”, उहाँ भन्नुहुन्छ, “हुन त पछि आउने हाम्रो सन्तानहरुको लागि यो लाभदायक होला तर यो नीति पहिला ल्याइदिएको भए हामी यसको लाभ लिन पाउथ्यौँ ।”
- ADVERTISEMENT -

बढ्दो अव्यवस्थित शहरीकरणसँगै वातावरणीय उर्जाको खपत न्यूनीकरण गर्ने उद्देश्यले यस्ता घर निर्माण शुरु गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकाँदोमा उक्त ऊर्जा प्रभावकारी घर निमार्ण शुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
वातावरणमा आएको परिवर्तनका कारण बढ्दो तापक्रम नियन्त्रण गरी उर्जाको खपतमा न्यूनीकरण हुने हुँदा आगामी दिनमा नगरपालिका भित्र ऊर्जा प्रभाकारी घर निमार्ण गर्न नगरवासीहरुलाई नगर प्रमुख विष्टले आग्रह गर्नुभयो ।
“नेपालगञ्जमा कृष्ण अधिकारी ज्यूले ऊर्जा प्रभावकारी घर निमार्ण गर्दै हुनुहुन्छ । यहाँको मौसमका लागि यस्ता घर निमार्ण अत्यन्तै आवश्यक छ”, नगर प्रमुख विष्टले भन्नुभयो, “उहाँले मात्र हैन अब अरुले पनि नयाँ घर बनाउँदा यस्तै घर निमार्ण गर्न आग्रह गर्दछु । यसका लागि नगरपालिकाले केही प्रतिशत छुटको व्यवस्था गर्नेछ ।”
उहाँले नेपालगञ्ज ‘हिटवेभ’ र शितलहरको प्रकोपले प्रताडित शहर भएकाले यस्तो प्रविधिको प्रयोग गरी घर निर्माण गर्दा नक्सापास वा अन्य सुविधा उपलब्ध गराउने गरी भवन आचारसंहिता निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
अव्यवस्थित शहरीकरणका कारण वातावरणमा परेको प्रभावलाई कम गर्दै प्रकृतिक रुपमा वातावरण सन्तुलन गर्न ऊर्जा प्रभावकारी घर निर्माण थालिएको घर धनी कृष्ण अधिकारी बताउनुहुन्छ । गर्मीमा अत्यधिक तातो र हिउँदमा अत्यधिक जाडो हुने भएकोले दुवै अवस्थामा वातारण सन्तुलन राख्ने ‘डिजाइन’ तयार पारेर घर निर्माण सुरु गरिएको ‘विल्डिङ्ग इनर्जी ईफिसियन्सी ईन नेपाल’का ‘विल्डिङ्ग मेटेरियल एक्सपर्ट इन्जिनियर’ सानुबाबु डंगोलले जानकारी दिनुभयो ।
उक्त संस्थाका परियोजना इन्जिनियर अभिशेष कर्णका अनुसार युरोपियन युनियनको अर्थिक सहयोगमा नेपालको बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ६० पालिकामा उर्जा प्रभावकारी घर निर्माण परियोजना लागु हुने छ ।
घर निर्माण गर्दा बाहिरको तातो भित्र नजाने र भित्रको तापमान यथास्थितिमै रहेन गरी घर निर्माण गरिने भएकाले पहिलो चरणमा बाँके र बर्दियामा घर बनाउने डकर्मीलाई तालिम दिईएको उहाँले बताउनुभयो । यसका लागि तयार पारिएको डिजाईन तथा प्रविधि प्रयोग गरेर घर निर्माण गर्दा तातो चिसो बनाउन लाग्ने उर्जाको खपत हुने र घर पनि प्राकृतिक रुपमै वातावरणमैत्री हुने दाबी गरिएको छ । रासस