सुर्खेत भदौ २८– कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जडित एमआरआई मेसिन उद्घाटन गरिएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार मेसिन उद्घाटन गरेका हुन्। मेसिन उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीका बिरामीको विश्वास जित्ने गरी एमआरआई सेवा दिन निर्देशन दिए।
‘प्रदेश अस्पतालका आगामी संरचना विकास र सञ्चालनबारे यो क्षेत्रका विज्ञसँग छलफल गरी अध्ययनपछिको यथार्थ रिपोर्टका आधारमा प्रदेश सरकार अघि बढ्नेछ’, उनले भने, ‘तथ्यले जे बताउँछ सो आधारमा काम गर्न हामी अघि बढ्नेछौं। गर्नैपर्ने काममा सामुहिक निर्णय गर्न सबै तयार हुनुपर्छ।’
- ADVERTISEMENT -

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार अस्पतालको साथमा रहेको र आवश्यक परे सहयोग गर्ने भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिन निर्देशन दिए। एमआरआई सेवाले कर्णालीबाट अन्यत्र सेवा लिन जाने बिरामीको दर रोक्ने उनको भनाइ छ। उनले भने, ‘बिरामीलाई आर्थिक भार पनि कम हुनेछ। मेसिन खरिद भयो मर्मत र सञ्चालनमा ध्यान दिनुहोला।’
- ADVERTISEMENT -

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनु्सार यो मेसिनलाई उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ। सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ। खड्काका अनु्सार हाल यो मेसिनबाट दैनिक आठजनासम्म बिरामीको उपचार हुँदै आएको छ। यसबाट २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिन्छ।
- ADVERTISEMENT -

देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ। प्रदेश अस्पताल सुर्खेतमा भने एकै दिनमा रिपोर्ट दिन चिकित्सक सक्षम भएका छन्।
- ADVERTISEMENT -

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको हो। पाँच वर्ष ग्यारेन्टी भएको उक्त मेसिन २९ करोड ७१ लाख रुपैयाँमा खरिद गरिएको हो।