काठमाडौँ , भदौ २८- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताएका हुन् ।
सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो ।
- ADVERTISEMENT -

उनले उपचारको अभावमा जलन रोगीहरूको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरूको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे । मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए ।
- ADVERTISEMENT -

उनले भने, ‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ । खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरू पनि थुप्रै हुनुहुन्छ । जीवनभर शारीरिक अपाङ्गता व्यहोर्नुपर्नेहरु पनि थुप्रै हुनुहुन्छ । यो एउटा एक्सिडेन्टल समस्या हो । यो जानेर हुने कुरा होइन । त्यसकारण यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हाले देखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ । यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौँ ।’
- ADVERTISEMENT -

त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भए पनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताएका थिए । उनले बिरामीहरूको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चारवटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराएका थिए ।
- ADVERTISEMENT -
