रत्ननगर, भदौ २४ – राजनीतिक दलहरुले नयाँ विधानको मस्यौदाको बैधानिकता खोजेपछि बाघमारा मध्यवर्ती सामुदायिक वनको निर्वाचन प्रक्रिया अबरुद्ध भएको छ ।
निर्बाचन समितिले भदौं ११ गते उम्मेदबारी दर्ता र १५ गते निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । काँग्रेस र एमाले बाहेक अन्य राजनीति दलहरुले मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र निकुञ्जले जारी गरेको सामुदायिक वनको निर्वाचन सम्बन्धी विधान मस्यौदाको बैधानिकता माथि प्रश्न उठाउदै भदौ १० गते साझ ७ बजे वनको कार्यालयमा ताला लगाएपछि अबरुद्ध भएको निर्वाचन प्रक्रिया अहिले सम्म सुरु हुन सकेको छैन् । नेपाली काँग्रेसले पनि तालाबन्दी प्रति मौन समर्थन गरेको थियो ।
- ADVERTISEMENT -
वनमा लगाएको ताला दलहरुले नै चारदिन पछि खोले तर निर्वाचन प्रक्रिया सुरु भएको छैन् । वन नियमावली २०७९ ले सामुदायिक वनमा उपाध्यक्ष र कोषाध्यक्ष सहित ५० प्रतिशत महिलाको सुनिश्चितता गरेको छ । सामुदायिक वनको साविकको विधानमा ८ वटा बुँदा थप गरी नयाँ प्रक्रिया अनुसार निर्वाचन गर्न चितवनका मध्यवर्ती सामुदायिक वनलाई निकुञ्जले विधानको मस्यौदा पठाएको छ । सोही विधानको मस्यौदामा टेकेर चितवनका तीन वटा सामुदायिक वनमा निर्वाचन भइसकेको छ । निकुञ्जको उपस्थितिमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाको अध्यक्षतामा २०८० साल माघ २० गते बसेको बैठकले विदान मस्यौदा पारित गरी सामुदायिक वनहरुमा पठाएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष समेत रहेका निर्वाचन समितिका संयोजकदुर्गाप्रसाद घिमिरेले बताए ।
- ADVERTISEMENT -
नयाँ विधानको मस्यौदाले सुरुमा परिषद् सदस्यको निर्वाचन, उपाध्यक्ष र कोषाध्यक्ष चयनको लागि अर्को निर्वाचन र खुल्लाबाट अध्यक्ष र सचिवको निर्वाचन गर्ने व्यवस्था गरेको छ । निकुञ्जले पठाएको विधानको मस्यौदा वनको साधारण सभाबाट पारित नगरी निर्वाचन गर्दा अबैधानिक हुने भन्दै दलहरुले निर्वाचन प्रक्रियालाई अबरुद्ध गरेको बुझिएको छ । तर सो सामुदायिक वनको साधारण सभाले निकुञ्जले विधानको मस्यौदा तयार गरेको र निर्वाचनमा त्यसलाई पनि आधार मानिने छ भनेर निर्णय पुस्तिकामा उल्लेख गरिएको संयोजक घिमिरेले जानकारी बताए ।
- ADVERTISEMENT -
माओवादी केन्द्र सहित ६ दलले वनको कार्यालयमा तालाबन्दी गरेपछि विधान मस्यौदा बारे प्रष्ट हुने मुख्यालय कसरा पुगेको निर्बाचन समितिलाई निकुञ्जले नयाँ विधान अनुसार नै निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । साउन ३ र ५ गते बसेको सर्वदलीय बैठकले निर्वाचन समितिलाई निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।
- ADVERTISEMENT -
निर्वाचन समितिले साधारण सभाको म्यान्डेट, परिषद् भेला, वनका सल्लहाकार तथा स्थानीय क्रियाशिल ८ राजनीतिक दलहरुले निर्माण गरेको निर्वाचन सहजीकरण समितिको निर्णय अनुसारनै निर्वाचन प्रक्रिया अगाडि बढाउदा समेत आफुले गरेको निर्णय विरुद्ध ६ राजनीतिक दलले वनको कार्यालयमा तालाबन्दी गरेको संयोजक घिमिरेले बताए । सर्वदलीय सहमती गरेका दलहरुबाटै निर्बाचन रोक्न तालाबन्दी भयो उनले भने निर्वाचन नहुनुमा निर्बाचन समितिको कमजोरी छैन् ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष तथा माओवादी नेता बासुदेव चापागाईले विधानको मस्यौदामा टेकेर निर्वाचन गर्दा बैधानिकता माथि प्रश्न उठ्ने सम्भावना देखेर निर्वाचन प्रक्रिया रोक्नकै लागि वनको कार्यालयमा तालाबन्दी गरिएको बताए । विधान मस्यौदाको बैधानिकता प्रष्ट हुने गरी निकुञ्जले लिखित रुपमा पत्र पठाएपछि मात्र निर्बाचन प्रक्रिया अगाडि बढाउन सहमत हुने उनको भनाई छ ।
सो सामुदायिक वनको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र सहित अन्य साना दलले गठबन्धन गरेका थिए । गठबन्धन दलका उम्मेदबार र एमाले एक्लै निर्वाचनमा होमिने अन्तिम तयारी भइरहेका बेला दलहरुबाटै वनको कार्यालयमा ताला लगाइयो । यता एमालले भने गठबन्धन गर्दा समेत निर्वाचन हार्ने डरले जिम्मेबार दलहरुले निर्वाचन प्रक्रियामा अबरोध गरेको बताएको छ ।
निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले वन नियमावलीमै उल्लेख भएको निर्वाचन सम्बन्धी व्यवस्थालाई समेटेर विधान मस्यौदा तयार भएको भन्दै बैधानिकता माथि प्रश्न उठाउनु पर्ने कारण नभएको बताए । बाघमारामा विवाद देखियो उनले भने यो बुझाइको कमजोरी हो, यसलाई छिट्टै टुङ्गो लगाउछौं । एक हजार ३०० उपभोक्ता रहेको सो सामुदायिक वनले पर्यापर्यटनबाट राम्रो आम्दानी गर्दै आएको छ ।