भरतपुर, भदौ १६- भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तले जन्मदिनका अवसरमा रू १५ लाख बढी रकम समाजसेवामा खर्च गरेका छन् । उनले वडाध्यक्ष भएबापत पाउने सबै सेवासुविधाको रकम सामाजिक काममा खर्च गरेका हुन् ।
जनप्रतिनिधि अनियमिततामा मुछिएका घटना बेलाबेलामा सुन्ने गरिएकामा पन्तले भने आफ्नो तलबभत्ता समेत समाजसेवामा खर्च गरेको छ । आज आफ्नो ६४औँ जन्मदिनका अवसरमा एक कार्यक्रम आयोजना गरी वडाध्यक्ष पन्तले रू १५ लाख बढीको सहयोग गरे ।
- ADVERTISEMENT -

“एक वर्षमा करिब रू पाँच लाख रकम आउँछ”, पन्तले भने, “त्यो सबै सामाजिक काममा खर्चिएको छु ।” उनले वडाका विपन्न, बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आएको बताए ।
- ADVERTISEMENT -

रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अध्यक्ष पन्त असल जनप्रतिनिधिको रुपमा परिचित रहेको बताए । “उन उदाहरणीय जनप्रतिनिधि बन्नुभएको छ”, उनले भने, “पन्त सधँैं सेवा भाव र सकरात्मक सोचका धनी हुनुहुन्छ ।” नगरप्रमख दाहालले पन्तले स्वच्छ जनप्रतिनिधिको रुपमा काम गरेको भन्दै यसलाई निरन्तरता दिन अनुरोध गरे।
- ADVERTISEMENT -

प्रमुख दाहालले जन्मदिन तथा चाडपर्व खर्चिलो र भड्किलो भन्दा पनि संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सेवा भावका साथ मनाउन सबैलाई आह्वान गरे । कार्यक्रममा पूर्वमन्त्री विजय सुवेदीले धन मात्र भएर नहुने भन्दै पन्तसँग धन र मन दुवै भएकाले सामाजिक काममा सक्रिय भएर लागिरहेको उल्लेख गरे । उनले सबै जनप्रतिनिधिले आफ्नो क्षमताअनुसार सामाजिक सेवाका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।
- ADVERTISEMENT -

पन्तले सहयोग रकम र सामग्री विभिन्न सामाजिक सङ्घसंस्था र व्यक्तिलाई हस्तान्तरण गरे । पन्तले भरतपुर–११ को नयाँ किरण कमल–कुसुम माध्यमिक विद्यालयलाई रू एक लाख ११ हजार, शिव पञ्चायम मन्दिर भरतपुर–१२ लाई रू एक लाख ११ हजार, देवघाट रोटरी करूणालयलाई रू तीन लाख ११ हजार, धनेश्वर शिवालय मन्दिर धनगढालाई रू एक लाख १३ हजार, प्रकाश कार्कीको इन्सुरेन्सलाई रू एक लाख पाँच हजार, राधाकृष्ण मन्दिर भरतपुर–१२ लाई रू एक लाख ११ हजार र पुण्यश्वर शिवालय मन्दिर भरतपुर–१२ लाई रू ५१ हजार एक सय ११ सहयोग गरेका छन् । साथै उनले वडाका विभिन्न आमा समूहलाई पनि सहयोग गरेका छन् ।
बागलुङ जिल्लाको मूलपानी जन्मिएका पन्त चितवनका एकदर्जन बढी सामाजिक सङ्घसंस्थामा आवद्ध छन् । उनले वडा कार्यालयमा पनि दानपेटीका राखेर सङ्कलन भएको रकमबाट नियमित रुपमा विपन्नलाई सहयोग गर्दै आएका छन् ।
कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्ति अधिकारी, पोखरेली टोल आमा समूहका अध्यक्ष शोभा पण्डित, महिला अधिकारकर्मी मीना खरेललगायतको सहभागिता थियो । रासस