भरतपुर, भदौ १६- खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट (असन्तुलित अन्य तेल)बारे शुक्रबार नारायणगढमा अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा खाद्य पदार्थमा देखिएको औद्योगिक ट्रान्सफ्याट सम्बन्धमा चितवनका होटल व्यवसायीहरुलाई एकैठाउँमा भेला गराएर नियमनका बारेमा जानकारी गराइएको हो ।
- ADVERTISEMENT -

ट्रान्सफ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो । यसलाई अति खराब चिल्लो भनिन्छ । स्वास्थ्यका दृष्टिकोणले ट्रान्सफ्याट चिल्लो पदार्थहरुमध्येको सबैभन्दा हानिकारक चिल्लो मानिन्छ । ट्रान्सफ्याट प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट प्राप्त गर्न सकिन्छ ।
- ADVERTISEMENT -

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशिनाथ घिमिरेले ट्रान्सफ्याटले रगतमा खराब कोलेस्ट्रोल (एल्डिएल)को मात्रालाई बढाउने बताए । जसका कारण ह्रदयघात र मस्तिष्कघातको समस्या आउने गर्दछ । उनका अनुसार ट्रान्सफ्याट क्यान्सरको सम्भावना बढाउने एक कारक तत्त्व पनि हो जसबाट महिलाहरुमा स्तरको क्यान्सर हुने अवस्था देखा पर्दछ ।
- ADVERTISEMENT -

कार्यालयका अनुसार उद्योगमा तयार गरी प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु बिस्कुट, कुकिज, तयारी चाउचाउ, भुजिया, दालमोठ, कुरकुरे, चिजबल्स, आलु चिप्स आदिमा बढी मात्रामा ट्रान्सफ्याट प्राप्त गर्न सकिन्छ । यस्तैगरी वनस्पति घिउ, बेकरीका सामानहरु, पिज्जा, फास्टफुडजस्ता वस्तुहरुमा अत्यधिक मात्रामा ट्रान्सफ्याट पाइने गर्दछ ।
- ADVERTISEMENT -

कार्यालयका खाद्य अनुसन्धान अधिकृत अमृता राईले खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । राईको कार्यपत्रमा उल्लेख भएअनुसार विश्वमा प्रत्येक वर्ष दुई करोड मानिसहरु ट्रान्सफ्याटकै कारण मुटु रोगबाट मर्ने गरेका छन् ।
कार्यक्रमका प्रमुखअतिथि भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले ट्रान्सफ्याट निकै डरलाग्दो र भयावह ल्याउन सक्ने खालको खतराजन्य वस्तु रहेको उल्लेख गरे । ट्रान्सफ्याटबाट विश्व नै आतंकित भइरहेको सन्दर्भमा कोही पनि अछूतो रहन नसक्ने भए पनि भरतपुर महानगरपालिकालाई ट्रान्सफ्याटमुक्त महानगर निर्माण गर्ने लक्ष्यमा आफू रहेको बताए ।
‘अबको मेरो मुख्य एजेण्डा भरतपुर महानगरलाई देशकै पहिलो ट्रान्सफ्याटमुक्त महानगर घोषणा गर्ने रहेको छ’, उपप्रमुख अधिकारीले भने, ‘यसमा सबै सरोकारवाला निकाय, होटल व्यवसायी र अन्य अधिकारकर्मीहरुको साथ र सहयोगको आवश्यकता पर्दछ ।’
विश्वमा हरेक चार वर्षमा औद्योगिक ट्रान्सफ्याटको उपभोगले पाँच लाख मानिसहरुको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सगठनले ट्रान्सफ्याटको उपयोग कुल क्यालोरीको एक प्रतिशतभन्दा कम गर्न सुझाव दिएको छ । संगठनले सन् २०२५ सम्ममा विश्वव्यापीरुपमा ट्रान्सफ्याट हटाउने प्रयास गरिरहेको छ ।
यता नेपाल सरकारले खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी नहुनेगरी सीमा निर्धारण गरेको छ । यसबाहेक उत्पादनको लेबलमा ट्रान्सफ्याटरहित (ट्रान्सफ्याट फ्री) भनी दाबी गरिएको हकमा उक्त खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्सफ्याटको मात्रा शून्य दशमलव दुई ग्राम प्रतिएकसय ग्राम चिल्लो पदार्थको तौलभन्दा बढी नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।