रत्ननगर, भदौ १४- राप्ती नगरपालिकामा रहेको जनआदर्श बहुमुखी क्याम्पस स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।
वार्षिकरुपमा घाटा व्यहोर्दै आएको सो क्याम्पस आर्थिक सङ्कटमा परेपछि सञ्चालन स्वामित्व स्थानीय सरकारको रुपमा रहेको राप्ती नगरपालिकालाई हस्तान्तरण गरिएको हो । बिहीबार नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमका बीच क्याम्पस सञ्चालन समितिका अध्यक्ष गोविन्दप्रसाद कँडेलले मेयर शमशेर लामालाई सञ्चालन स्वामित्व हस्तान्तरण गरेका हुन् ।
- ADVERTISEMENT -

नगरस्तरीय राजनीतिक दल र जनप्रतिनिधिहरुको रोहवरमा अब स्थानीय सरकारले क्याम्पस सञ्चालन गर्ने गरी सम्पूर्ण स्वामित्व नगरपालिकालाई हस्तान्तरण गरेको क्याम्पसप्रमुख खिमानन्द अर्यालले बताए । जनस्तरबाट सञ्चालित क्याम्पसले वार्षिकरुपमा सञ्चालन घाटा व्यहोर्न बाध्य भएपछि क्याम्पसको अस्तित्व जोगाउन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो ।
- ADVERTISEMENT -

५५० जना विद्यार्थी रहेको सो क्याम्पसमा कक्षा ११ र १२ सहित स्नातक तहमा बिबिएस र बिएड तथा स्नातकोत्तर तहमा एमबिएससम्म पढाइ हुने गरेको छ । आम्दानीभन्दा खर्च बढी हुँदा सो क्याम्पस सञ्चालन गर्दा वार्षिक करिब ६० लाख घाटा हुँदै आएको छ । कोरोनाकालपछि क्याम्पसको अवस्था खस्किँदै गएको क्याम्पसप्रमुख अर्यालले बताए । कक्षा ११ र १२ पास भएपछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु विदेश जाने प्रचलनले विद्यार्थीको संख्या घट्दै गएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

कक्षा ११ र १२ पास भएर विदेश गएका विद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने रकम नतिरेका कारण पनि क्याम्पस घाटामा गएको हो । ‘दुई करोडभन्दा बढी रकम विद्यार्थीबाट उठाउन बाँकी रहेको छ’, क्याम्पसप्रमुख अर्यालले भने, ‘आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु पढ्ने क्याम्पस भएका कारण पैसा उठाउन समस्या भएको छ ।’ क्याम्पस सञ्चालनका लागि मासिक १२ लाख खर्च हुन्छ । क्याम्पसमा २४ जना प्राध्यापक र ५ जना कर्मचारी कार्यरत छन् । क्याम्पस सञ्चालनका लागि वार्षिक दुई करोड ६० लाख खर्च हुँदा आम्दानी भने दुई करोडको हाराहारीमा रहेको छ ।
- ADVERTISEMENT -

२०५० सालमा स्थापना भएको सो क्याम्पस चितवनको पुरानो सामुदायिक क्याम्पसमध्येको एउटा शैक्षिक संस्था हो ।
राप्तीको बुद्धशान्ति बहुमुखी क्याम्पस बन्द भएको लामो समय भइसक्यो । नगरपालिकामा एउटा सामुदायिक क्याम्पस हुनु अनिवार्य सर्त हो । बुद्धशान्ति बन्द हुनु र नगरभित्र रहेको अर्को सामुदायिक क्याम्पस आर्थिक सङ्कटमा पर्नुले चिन्ता थपिएको भन्दै स्वामित्व ग्रहण गरेर सञ्चालन गर्न राजनीतिक दलहरुले स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष कँडेलले क्याम्पस बिगारेर स्थानीय सरकारलाई हस्तान्तरण गरेको नभई अस्तित्व जोगाउने प्रयास गरिएको बताए । ‘क्याम्पस चलाउन नसकेर हस्तान्तरण गरेका होइनौँ’, उनले भने, ‘आर्थिक सङ्कट पैदा भयो, स्थानीय सरकारले सञ्चालन गर्दा दीर्घकालीन हुने भएकाले हस्तान्तरण गरेका हौँ ।’
क्याम्पस आर्थिक सङ्कटमा परेपछि निकास निकाल्न क्याम्पसतर्फबाट सञ्चालक समितिका उपाध्यक्ष राजेन्द्रप्रसाद बुर्लाकोटी संयोजक रहेको कार्यदल र नगरपालिकाले नगर शिक्षा अधिकारी नवीना देउजा संयोजक रहेको कार्यदल बनाएको थियो ।
दुईवटै कार्यदलको बैठक बसेर क्याम्पस सञ्चालनबारे निर्णय लिने भनिएको भए पनि लामो समयसम्म दुईवटा कार्यदल एकै ठाउँमा उभिन सकेनन् । क्याम्पसलाई आर्थिकरुपले थप धराशायी हुनबाट जोगाउन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सञ्चालक समितिका अध्यक्ष कँडेलले बताए ।
स्वामित्व हस्तान्तरण कार्यक्रममा मेयर लामाले क्याम्पस सञ्चालन गर्ने जिम्मेवारी पाउनु अवसरको विषय भएको भन्दै कार्यविधि बनाएर नगरसभाले पास गरेर अगाडि बढ्ने बताए । ‘स्थानीय सरकारले क्याम्पस सञ्चालन गर्न पाउनु अवसरको कुरा हो’, उनले भने, ‘नगर शिक्षा ऐन, शिक्षा नियमावली र क्याम्पस सञ्चालन कार्यविधि हेरेर व्यवस्थितरुपमा क्याम्पसलाई अगाडि बढाउने छौँ ।’
कार्यक्रममा उपमेयर देवेन्द्र लामा, सामाजिक विकास समितिकी संयोजक सुमिता डल्लाकोटी, वडाध्यक्षहरु सीताराम बल, पूर्णप्रसाद आचार्य, नेकपा एमालेका नगर अध्यक्ष पूर्णबहादुर थापा, नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटी, माओवादी केन्द्रका नगर अध्यक्ष रामचन्द्र पाठक, नेकपा एसका नगर अध्यक्ष आरके पण्डित, क्याम्पसका प्राध्यापक संघका सभापति रामनाथ पाठक, कार्यदलका सदस्य जयराम बाँस्कोटा, शिक्षा समिति सदस्य रामबहादुर सारुलगायतले मन्तव्य राखेका थिए ।