भरतपुर,भदौ ९- चितवनलाई ‘मेडिकल सिटी’को रुपमा विकास गराउन यहाँको आँखा अस्पतालले पनि मह¤वपूर्ण भूमिका खेलेको छ । नेपाल नेत्रज्योति संघमार्फत सञ्चालित हुँदै आएको भरतपुर आँखा अस्पतालले बर्सेनि हजारौँ मानिसहरुको आँखाको विभिन्न खालका उपचार गर्दै आइरहेको छ ।
२०४४ सालमा स्थापना भएदेखि हालसम्म सेवासुविधा थप्दै लगेको अस्पतालले हाल सञ्चालित सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएको छ । शनिबार संघको २४औँ साधारण सभाका क्रममा संघले चितवनमा स्तरीय आँखा सेवासम्बन्धी राष्ट्रियस्तरको तालिम केन्द्रको स्थापना गर्नु आवश्यक रहेको बताएको हो ।
- ADVERTISEMENT -

आवश्यक संरचना निर्माणसँगै यन्त्र उपकरण तथा दक्ष जनशक्तिको व्यवस्थापन गरी भरतपुर आँखा अस्पताललाई आँखा उपचारका लागि अन्तिम गन्तव्य बनाउने प्रयास गरिएको संघका सचिव केशवप्रसाद अधिकारीद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ । ‘भरतपुर आँखा अस्पताललाई आँखा उपचारको अन्तिम गन्तव्यको रुपमा विकसित गर्ने योजना छ’, सचिव अधिकारीले प्रतिवेदनमार्फत जानकारी गराए ।
- ADVERTISEMENT -

नयाँ प्रविधिका उपकरण वृद्धि गर्दै अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए । ज्येष्ठ एवं शारीरिकरुपमा अशक्त व्यक्तिका लागि छिटो, छरितो सेवा उपलब्ध गराउन अवस्पतालमा छुट्टै शाखाको व्यवस्था मिलाउने उनको भनाइ छ ।
- ADVERTISEMENT -

यसका साथै टेलिमेडिसिन सेवालाई सहज र प्रभावकारी बनाउने, अर्थोअप्टिप्स सेवा विस्तार गर्ने, विभिन्न अस्पतालबाट पठाइएका बिरामीलाई उपचार गराउन छुट्टै जाँचकक्ष सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख छ । निकट भविष्यमा नै भरतपुर आँखा अस्पताल ठोरीको औषधि कक्ष दर्ता गरेरै सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।
- ADVERTISEMENT -

चितवनमा ठूला मेडिकल कलेजसहित केन्दीयस्तरकै सुविधासम्पन्न अस्पतालहरु सञ्चालनमा रहेको हुँदा भरतपुर आँखा अस्पताललाई थप विशिष्टीकृत सेवासहित विस्तार गर्दै लैजानुपर्ने नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले बताए । आवश्यकता र बजारको मागअनुसारको सेवासुविधा दिँदै नमुना अस्पताल बनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘भरतपुर आँखा अस्पताललाई सबैको आँखा उपचारको केन्द्र बनाउनुपर्छ’, उनले भने ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिन डा. आशेष ढुङ्गानाले नेपाल नेत्रज्योति संघसँगको सहकार्यमा संघीय राजधानीबाहिर विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्चालन हुँदै आएको बताए । ‘यसलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्छ’, उनले भने ।
भरतपुर आँखा अस्पतालद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत आर्थिक वर्षमा तीन लाख ४९ हजार ५४६ जनाले आँखा उपचारको सेवा लिएका छन् । तीमध्ये ११ हजार २५७ जनाको आँखाको शल्यक्रिया गरिएको संघका अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिए ।
अस्पताल तथा अस्पतालले सञ्चालन गरेको उपचार केन्द्रबाहेक गत आर्थिक वर्षमा यस अस्पतालबाट १६ वटा सर्जिकल क्याम्पसहितको क्याम्पमार्फत १५ हजार ७१४ जनाको आँखा जाँच गरिएकोमा एक हजार ५६८ जनाको शल्यक्रिया गरिएको उनको भनाइ छ । अस्पतालबाट आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसक्ने बिरामीहरुका लागि २३ लाख दुई हजार ७९० रूपैयाँबराबरको उपचार सेवा छूट दिइएको अध्यक्ष श्रेष्ठले बताए ।
संघका कोषाध्यक्ष सिद्धार्थलाल चुकेले आर्थिक प्रतिवेदन पेस गरेको कार्यक्रममा आँखा अस्पतालमा कार्यरत पाँच जना कर्मचारीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । रामकृष्ण कार्की, सोविता कँडेल, भीमलाल श्रेष्ठ, प्रदीप सुवेदी र डा. चन्द्रबहादुर श्रेष्ठलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो ।