भरतपुर, भदौ ९- भरतपुर महानगर प्रमुख रेनु दाहालले दिगो फोहोर व्यवस्थापनमा चुकेको स्वीकार गरेकी छन् । भरतपुर क्यान्सर अस्पतालको सभाहलमा भएको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा महानगर प्रमुख दाहालले सहभागीले दिगो फोहोर व्यवस्थापनमा प्रश्न उठाएपछि प्रमुख दाहालले प्रयासका बाबजुद पनि फोहोर व्यवस्थापन गर्न नसकिएको स्वीकार गरिन् ।
‘प्रयास नगरेको होइन, तर एकपछि अर्को समस्या आइरहे, पछिल्लो समय फेरि जग्गाको प्राविधिक समस्या आयो ।
जग्गाको टुङ्गो लगाई भरपर्दो ल्यान्डफिल साइट बनाउने योजना छ’, दाहालले भनिन्, ‘तर पनि फोहोर व्यवस्थापनमा लागिरहेका छौँ ।’ महानगरले ल्यान्डफिल साइट निर्माणमा सट्टाभर्नाका लागि माडीमा खरिद गरेको जग्गा वन मन्त्रालयले अनुपयुक्त भनेपछि ल्यान्डफिल साइट नै अन्योलमा परेको छ ।
- ADVERTISEMENT -

सार्वजनिक सुनुवाइमा प्रमुख दाहालले अब एकदिन कुहिने, अर्को दिन नकुहिने फोहोर उठाउने गरी टेन्डर आह्वान गरिएको बताइन् । उनले फोहोर व्यवस्थापनमा केही दिनमा देखिने गरी काम हुने दाबी गरिन् । तर, ठाउँ–ठाउँमा फोहोर उठिरहेको छैन, अहिले पनि नारायणगढ बजारका ठाउँ–ठाउँमा फोहोरको थुप्रो देखिन्छ ।
- ADVERTISEMENT -

सार्वजनिक सुनुवाइका धेरै सहभागीले केन्द्रीय बसपार्कको विषयमा प्रश्न राखेका थिए । सहभागी रामचन्द्र लामिछाने, यज्ञराम खरेललगायतले बसपार्कमा लाइट नभएको, बसहरु केन्द्रीय बसपार्कमा प्रवेश नगरेको र बसपार्कमा उठ्नुपर्ने कर अन्यत्रबाट उठिरहेको भन्दै प्रश्न गरेका थिए ।
- ADVERTISEMENT -

प्रश्नमाथि प्रमुख दाहालले हिजोको बसपार्क र आजको बसपार्कमा धेरै परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘पहिला पनि दक्षिण एसियाको नमुना बसपार्क भनिन्थ्यो, अस्तव्यस्त थियो, अहिले धेरै सुधार भएको हो ।’ उनले आफू निर्वाचित भएर आएपछि अहिलेसम्म १० करोडको काम बसपार्कको भएको बताइन् । दाहालले भनिन्, ‘अब लाइट भएन भन्नुभएको छ त्यो हुन्छ, आगामी तिहारसम्म बसपार्क झिलिमिली हुन्छ । हरियाली, वृक्षरोपणलगायतका काम पनि हुन्छन् ।’
- ADVERTISEMENT -

कार्यक्रममा भ्रष्टाचारविरोधी अभियानमा सक्रिय रहेका सहभागीहरुले महानगरमा बेथिति भएको दाबी गर्दै प्रश्न गरेका थिए । जवाफमा दाहालले प्रमाण पु¥याएर ल्याए जोकोही भए पनि कारबाही गर्ने बताएकी थिइन् । ठेक्का, खरिद प्रक्रियामाथि पनि सहभागीले प्रश्न गरे । जवाफमा दाहालले खरिद तथा ठेक्काका कामहरु सबै नियमबमोजिम भएको बताइन् ।
कार्यक्रमका सहभागी सूर्यप्रसाद बराल, लक्ष्मीदेवी शर्मा, रविभद्र शर्मा ढकाल, प्रकाश तिवारी, बाबुराम कँडेल, विजय परियार, होमनाथ ढकाल, यज्ञराम खरेल, विशाल कोइराला, आनन्दप्रसाद न्युरे, विष्णुप्रसाद खतिवडा, हरि भण्डारी, शर्मिला पण्डित, चित्रबहादुर न्यौपाने, पूर्णबहादुर राईलगायतले किसानको समस्यादेखि सडकसम्म, शिक्षादेखि स्वास्थ्यसम्मका प्रश्न गरेका थिए ।
भरतपुरमा पार्किङको समस्या देखिन थालेको विषय पनि सहभागीले उक्काएका थिए । ढलको दिगो व्यवस्थापन गर्न, भरतपुर–९ मा विद्यालय स्थापना गर्न, देवघाट क्षेत्रमा बाँदरको समस्या समाधान गर्न, रेलमार्गको विकल्पमा दबाब दिन, शिक्षामा राजनीतीकरणको नीति नल्याउन, रोजगारमुखी कार्यक्रम ल्याउन सुझावसहित सहभागीले प्रश्न गरेका थिए ।
जवाफमा दाहालले रेलमार्गको विकल्पसहितको पत्र रेल विभागमा पठाइएको, दिगो ढल व्यवस्थापनको काम अघि बढेको र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएको, बाँदरको समस्या समाधानमा पहल गरिएको, महानगरमा मात्र शिक्षामा राजनीतीकरण नभएको, रोजगारमुखी कार्यक्रम ल्याउन पहल भइरहेको बताएकी थिइन् । भरतपुर–९ मा विद्यालय स्थापना गर्न स्थानीय नै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरुमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम भइरहेको र त्यहीअनुसार अझ प्रभावकारी काम गर्न महानगर अघि बढ्ने बताइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले तेस्रो चौमासिकमा गौतमबुद्ध क्रिकेट रङ्गशालाको टेन्डर गर्ने, भरतपुर भ्रमण वर्ष–२०२४ अभियान, नारायणी तटबन्ध, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडकलगायतका गौरवका आयोजनामा भएका प्रगति विवरणहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरले योजनाबद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गरेको बताए ।
महानगरको आर्थिक वर्ष २०८०/ ८१ को विनियोजित छ अर्ब ४२ करोड १३ लाख ३० हजार बजेट रहेकोमा चार अर्ब १७ करोड ३७ लाख ७६ हजार खर्च भएको छ । यो बजेटको ६४ दशमलब ९९ प्रतिशत हो । जसमध्ये चालूतर्फ ८४ दशमलब सात प्रतिशत र पुँजीगततर्फ ५० दशमलब पाँच प्रतिशत खर्च भएको छ । यसैगरी, महानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब ७५ करोड लक्ष्य लिएकोमा एक अर्ब ३० करोड ९१ लाख ४८ हजार राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ७५ प्रतिशत हो ।