काठमाडौँ,भदौ ६- भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ ।
आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुग्नुभएका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उहाँले संयुक्त रुपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गर्नुभएको हो ।
- ADVERTISEMENT -

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भन्नुभयो, “जलवायु परिवर्तन अहिले यस क्षेत्रको प्रमुख समस्या भएको छ । दक्षिण एसियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन् । ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ ।”
- ADVERTISEMENT -

भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गर्नुभयो । उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ ।
- ADVERTISEMENT -

नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नाका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गर्नुभएको थियो । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणा आज अपराह्न स्वदेश फकँदै हुनुहुन्छ । रासस
- ADVERTISEMENT -
