नारायणगढ, भदौ ६- माडीका ४३ वर्षीय गोपाल गुरूङले करिब १८ वर्ष गाडी चलाए। श्रीमती तुलसी पनि जागिर गर्थिन्। दुवैजनाले धेरथोर आम्दानी गर्थे। त्यसले परिवार चलाउन सहज भएको थियो। काखमा दुई छोरी हुर्किंदैछन्। गाउँबाट अवसर खोज्दै बजार आएको यो परिवार डेरामै भए पनि सहजरुपमा चलिरहेको थियो। गोपालले किस्तामा भरतपुरबाट माडी चलाउन गाडी निकाले।
त्यसपछि सानैदेखि परिवारविहीन अवस्थामा हुर्किएका गोपालको जीवनमा पारिवारिक सुखसँगै दुखान्त जीवनले सुखान्तको लय समात्न थालिसकेको थियो। तर, डेढ वर्षदेखि गोपालको दैनिकी पुनः कष्टपूर्ण अवस्थामा फर्किएको छ। २०७९ सालको फागुनको एक साँझ मोटरसाइकल दुर्घटनामा परेर मेरूदण्ड भाँचिएपछि गोपालको दुःखका दिन फेरि सुरू भएको हो।
- ADVERTISEMENT -

श्रीमती तुलसीले श्रीमान्को जीवन फर्काउन ९ महिनासम्म विभिन्न अस्पताल डुलाइन्। भरतपुरको सरकारी अस्पताल, पुरानो मेडिकल कलेज, काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, पाल्पाको मिसनलगायतका अस्पताल डुलाएर उपचारमा हरसम्भव प्रयास गरिन्। नेपालका अस्पताल डुलाएर उपचार पूरा नभएपछि बिरामी श्रीमान्लाई उनले थप उपचारका लागि भारत लगिन्।
- ADVERTISEMENT -

दुर्घटनामा परेको एक वर्षपछि दिल्लीमा बल्ल शल्यक्रिया भयो। त्यतिञ्जेलसम्ममा ऋणधन गरेको करिब २५ लाख रूपैयाँ सकियो। थप उपचारका लागि ऋण माग्ने ठाउँ सकियो। तर, उपचार सकिएन। र, उपाय नलागेपछि तुलसीले सार्वजनिकरुपमै सहयोगको अपिल गरेकी छन्। कमाउने व्यक्ति नै थलिएपछि आयस्रोतको सबै ढोका बन्द भएको तुलसीले बताइन्।
- ADVERTISEMENT -

‘श्रीमान् बिरामी भएर ओछ्यान परेपछि रोजगारको बाटो बन्द भयो’, उनी भन्छिन्, ‘ओछ्यान परेको श्रीमान् छोडेर मैले काम गर्न सक्ने अवस्था पनि छैन।’ आफूसँग सङ्कलन भएको पैसा सबै श्रीमान्को उपचारमै खर्च गर्दै जाँदा विगत डेढ वर्षदेखि कोठाभाडासमेत तिर्न नसकिएको उनले सुनाइन्। दिल्लीको अस्पतालले गत असार अन्तिम साता ‘फलोअप’का लागि बोलाएको थियो। तर, पैसा नहुँदा अहिलेसम्म पनि लैजान नसकेको उनले बताइन्।
- ADVERTISEMENT -

अहिले उनले श्रीमान्लाई विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अकुपङ्चर र पुष्पाञ्जली अस्पतालमा फिजियोथेरापी गराउँदै आएकी छन्। ‘दिल्ली लैजान नसकिए पनि चितवनमै पनि उपचार चलिरहेको छ। त्यसका लागि दैनिक एक हजार रूपैयाँका दरले निरन्तर खर्च भइरहेको छ’, उनले भनिन्, ‘अहिले यहीँ हुने खर्च जुटाउनै समस्या भइरहेको छ, भारत लैजाने विषयमा सोच्नै सकेको छैन।’ अस्पतालले तीन वर्षसम्म निरन्तर उपचार प्रक्रिया चल्ने बताएको उनले बताइन्।
मेरूदण्डको समस्या समाधान भयो । तर, त्यसको असरले पारेको समस्या ठूलो चुनौती बनेको उनको भनाइ छ। गोपालको दायाँ पाखुरा राम्रोसँग चलाउन मिल्दैन। त्यसैको उपचार गर्न रकम नभएपछि समयमा उपचार गराउन नसकिएको तुलसीले बताइन्। दिल्ली जानका लागि एकपटकमा कम्तीमा नेपाली ५० हजार रूपैयाँ रकम खर्च हुने उनले बताइन्। ‘आफूसँग क्षमता हुँदासम्म त्यति ठूलो रकम खर्च गरेर पनि उपचार गरियो। नभएपछि सानो रकम पनि झन् ठूलो बन्दोरहेछ’, उनले भनिन्।
अहिले उनलाई खानाको लागिभन्दा पनि श्रीमान्को उपचार नै ठूलो भएको छ। ‘खाना त बरू जेनतेन चलाउँछु, मलाई समस्या त उपचार खर्चकै हो’, उनले भनिन्, ‘कम्तीमा बिरामी श्रीमान्ले आफ्नो काम आफैँ गर्न सक्ने भएदेखि कामका लागि म बाहिर निस्किन पाउँथेँ।’ अहिले श्रीमान्कै स्याहारमा आफू निरन्तर खटिनुपर्ने भएपछि घर छाडेर काम गर्ने अवस्था नरहेको उनको भनाइ छ।
ठूली छोरी कक्षा आठमा पढ्दै छिन्। शुल्क बुझाउन सकेकी छैनन्। ‘पैसा छैन भन्दैमा पढाइ रोक्ने कुरो नि भएन’, उनी भन्छिन्, ‘त्यसैले विद्यालयसँग पनि मेरो समस्याबारे बुझाएकी छु। विद्यालयले पनि कहिलेसम्म बुझिदिने हो र भन्ने लागेको छ।’ सानी छोरी नर्सरी भर्ना भएकी छन्। तुलसीले करिब एक दशक पत्रिका वितरकको काम गरिन्।
दुई सन्तान भएपछि सन्तानको रेखदेखमा बढी समय दिनुपर्ने भएकोले करिब पाँच वर्षअघि उक्त काम छाडेकी हुन्। गोपाल पनि श्रीमतीलाई भगवान्को रुप देख्छन्। ‘बुबाको माया भन्ने नै पाइनँ। आमा पनि दोस्रो विवाह गरेर गएपछि आमाबाट पनि पाउनुपर्ने माया र साथ पाइनँ’, उनले भने, ‘सानो छउञ्जेल मामाघरमा बसेँ। आफैँ केही गर्न सक्ने भएपछि मामाघर पनि छाडेँ। र, आफ्नो सुर गर्न थालेँ।’
बेसहारा अवस्थामा विवाह गरेपछि श्रीमती नै नजिकको अभिभावक भएको भन्दै उनले यो अवस्थामा पनि श्रीमतीकै कारण गलत बाटो रोज्न नसकेको बताए। ‘मेरो उमेरमा मलाई कसैले तँ मेरो मान्छे होस् मात्रै भनिदिएको भए म त्यो मन्छेको जीवनभर सेवा गर्थें’, भावुक हुँदै उनी भन्छन्, ‘मैले विवाह नगरेसम्म जीवनमा मेरो आफन्त भन्ने नै भेट्टाइनँ। अहिले मेरो आफन्त भनेकै श्रीमती र दुई छोरी हुन्।’
तुलसीले सहयोगका लागि भाइ पशुपति श्रेष्ठको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १६२०१००५५३९८८०१० मा रकम जम्मा गरिदिनसमेत आग्रह गरेकी छन्। थप जानकारीका लागि ९८४५३७०६७६ मा सम्पर्क गर्न सकिने छ।