भरतपुर, भदौ ६- भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको विषयमा छानबिन गर्ने जिल्ला प्रशासन कार्यालय चितवन र पीडित पक्षबीच सहमति भएको छ ।
घटनाको छानबिन गर्न अस्पतालको आन्तरिक छानबिन समिति बनिसकेको अवस्थामा जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउने गरी नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको छ भने थप छानबिनका लागि गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि अनुरोध गर्ने निर्णय भएको छ ।
- ADVERTISEMENT -

भरतपुर महानगरपालिका–१२, मुनालचोक घर भई हाल गैँडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्लेको उपचारको क्रममा मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) औषधि दिइएको कारण उनको मृत्यु भएको थियो । उनमा मुटुको समस्या पनि रहेको बताइएको छ ।
- ADVERTISEMENT -

घटनाको विषयमा छानबिन गर्ने सरकारी पक्ष र पीडित पक्षबीच सहमति भएपछि परिवारले मृतकको शव बुझ्ने भएको छ । छानबिन प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएपछि शवको अन्तिम संस्कार गर्ने गरी परिवारले मृतकको शव बुझेर लैजाने भएको हो ।
- ADVERTISEMENT -

जिल्लास्तरीय सर्वपक्षीय छानबिन समितिको संयोजकमा भरतपुर अस्पतालका डा. प्रकाश खतिवडा रहेका छन् भने सदस्यहरुमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियन डा. प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिञ्जाली, पीडित पक्षका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
- ADVERTISEMENT -

मृतकका श्रीमान् रामप्रसाद काफ्लेलाई आमन्त्रितको रुपमा बोलाउन सकिने बताइएको छ ।उनका अनुसार समितिको सदस्य सचिवमा शाखा अधिकृत तुलसीराम आचार्यलाई तोकिएको छ ।
छानबिन समितिले घटनाको तथ्य अध्ययन गरी सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।
समितिले तयार पारेको प्रतिवेदनमाथि कारबाहीका लागि गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई अनुरोध गर्ने निर्णय गरिएको यादवले बताए । समिति गठन भएसँगै मृतकका परिवारले शव बुझेर अन्तिम संस्कारका लागि लैजान सहमत भएका छन् ।