चितवन, भदौ ४- नारायणगढको लायन्स चोकमा रहेको शुभ पेट्रोल्याण्डले ग्राहकको गाडी निःशुल्क सफा गरिदिने सेवा सुरु गरेको छ ।
कपडा तथा गाडी सफा गर्ने ब्रसले गाडीको धुलो पुछेर सफा गरिदिन सुरु गरिएको हो । पेट्रोल हाल्न लाइनमा बसेका ग्राहकलाई सम्मानस्वरुप उनीहरुको गाडी सफा गरिदिन सुरु गरेको पम्पका सञ्चालक सबल पियाले जानकारी दिए ।
- ADVERTISEMENT -

कार, अटो, म्याजिक र माइक्रो साइजका जुनसुकै गाडीलाई पुछेर सफा गरिदिन सुरु गरेको उनले जानकारी दिए । त्यसका लागि १ जना कर्मचारी नै राखिएको छ ।
- ADVERTISEMENT -

ग्राहकको गाडी सफा गरिदिने सेवा आफूले भारतका पेट्रोलपम्पहरुमा देखेको उनले बताए । नेपालमा पनि यो सेवा सुरु गरौं भनेर आफूले सुरु गरेको पियाको भनाइ छ ।
- ADVERTISEMENT -

पियाले अटो, टेक्सी, म्याजिक, स्कुल बस तथा सार्वजनिक बसका चालकहरुलाई गतवर्षको दशैंमा नयाँ लुगा वितरण समेत गरेका थिए । अब पनि गर्ने योजना रहेको उनले सुनाए ।
- ADVERTISEMENT -

पेट्रोल पम्प सञ्चालक सबल पिया एक सामाजिक व्यक्ति समेत हुन् । उनी समाज सेवामा पनि अग्रसर छन् । उनले पम्पको खर्चमा चितवनको नारायणी माविमा २ जना र भानु माविमा १ जना गरी ३ जना निम्नस्तरका परिवारका विद्यार्थीलाई पढाइरहेका छन् । पियाका अनुसार नारायणीमा माविका एक जनाले एसईई पास गरिसकेका छन् भने एक जना १० कक्षा पढिरहेका छन् । ती दाजुभाई हुन् । आमाले लेबर र बुवाले ठेलाको काम गर्ने गर्छन् ।
त्यसैगरी बाजे बजैको संरक्षणमा रहेकी एक बालिका भानु माविमा २ कक्षामा पढिरहेकी छिन् । उनको सम्पूर्ण पढाइ खर्च पियाले पम्पबाटै व्यहोर्दै आएका छन् ।
यसैगरी माडीमा फुटबल क्लव रेड हिल युनाइटेडलाई पम्पले समयसमयमा सहयोग समेत गर्ने गरेको छ ।
पम्प सञ्चालनसँगै आफ्नो सामाजिक उत्तरदायित्व सम्भेर सबल पियाले गरेका सामाजिक कामको खुलेरै प्रसंशा हुने गरेको छ ।