काठमाडौँ,भदौ ४- भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले पशुपतिमा गएर चन्दन लगाउने नेपालका नेताहरूले संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वाभाविक भएको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरूले आफूलाई भेट्न पशुपति कोटिहोममा आएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसद्मा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोधसमेत गरे । उनले भने,‘पशुपतिमा धेरै नेता वा सांसदहरू आउनुभयो । मैले उहाँहरूलाई भने यहाँ आएर चन्दन लगाएर संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’
- ADVERTISEMENT -

उनले अहिले नेपालमा विभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिबद्धता छ । उनले भने,‘आज राष्ट्रमा विभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अत्तिचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरू धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिरहेका छन् । मेरो पहिले पनि नेपाल आमा के भन्छिन्,हिन्दु राष्ट्रले भन्छ–‘धर्म निरपेक्षता चाहिँदैन ,गाई काट्न पाइँदैन’ भन्ने नारा थियो । त्यो नारा आज पनि मजबुत छ । जबसम्म नेताहरूले हिन्दु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालीबाबा नेपाललाई छाड्ने छैन ।’
- ADVERTISEMENT -

उनले आफूले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बौद्धिक सनातन धर्म नै चाहिएको भन्दै यदि त्यो भएन भने शान्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए ।
- ADVERTISEMENT -
