भरतपुर, साउन ७- जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा प्रस्तावित रेलमार्ग सर्भे नभएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विगत केही समययता जिल्लामा प्रस्तावित रेलमार्गको कुनै सर्भे नभएको जानकारी दिए ।
प्रस्तावित रेलमार्गको सर्भे गर्न आएको भन्दै तीन दिनअगाडि भरतपुर–७ मा एउटा कम्पनीको गाडी आगजनी भएको थियो । सो गाडी र त्यसमा चढेका कर्मचारी कुनै कम्पनीको भएको र तिनीहरुले प्रस्तावित रेलमार्गको सर्भे नगरेको चितवन प्रशासनको भनाइ छ ।
- ADVERTISEMENT -
‘आगजनी भएको गाडी र यसमा चढेर आएका कर्मचारी गुगल म्याप सर्भेका लागि आएको बुझियो’, प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘जुन उद्देश्यले आएको भनियो, वास्तवमा त्यो रहेनछ ।’
- ADVERTISEMENT -
आगजनी भएको गाडी बागमती प्रदेशको आरएच कन्सल्टेन्सीको ०१, ०३० च ७१९० नम्बरको हो । यो गाडी हाल जिल्ला प्रहरी कार्यालय चितवनमा छ । प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भेषराज रिजालले जलेर बाँकी रहेको गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए ।
- ADVERTISEMENT -
उनले भने, ‘गाडी, त्यसमा सवार कर्मचारी र रेलमार्गबीच कुनै साइनो रहेनछ, जुन रेलमार्ग सर्भे भनियो त्यो गाडी यस प्रयोजनका लागि आएकै होइन, बुझाइमा फरक परेको छ ।’ चाँडै आक्रोशित हुँदा र गलत बुझाइका कारण घटना घटेको उनले बताए ।
- ADVERTISEMENT -
हालसम्म आगजनीको जिम्मा कसैले लिएको छैन । प्रस्तावित रेलमार्ग पीडित संघर्ष समितिले अज्ञात समूहबाट आगजनी भएको बताएको छ । समितिका अध्यक्ष भगीरथ पहारीले गाडीलाई नियन्त्रणमा लिएर प्रहरी बिटमा लैजाने क्रममा भीडभाडमा भएको अज्ञात समूहको घुसपैठबाट आगजनी भएको बताए ।
पीडित संघर्ष समितिका सचिव दिव्यबाबु नेपालले समितिले आगजनीको जिम्मा नलिने बताए । उनले भने, ‘आगजनीप्रति दुःख प्रकट गरेका छौँ, कसले आगजनी गरेको हो थाहा नै छैन । हामीले त गाडी र त्यसमा सवार कर्मचारीलाई प्रहरीको जिम्मा लगाएका थियौँ, आगजनी त पछि भएको छ ।’
उनका अनुसार आगजनी भएको गाडी र त्यसमा सवार कर्मचारी जहाँ प्रस्तावित रेलमार्ग छ त्यहीँ क्यामराले सर्भे गर्दै हिँडेपछि स्थानीयमा रेलमार्गकै सर्भे भएको बुझाइ प¥यो । उनले गाडी रेलमार्गको सर्भेका लागि दौडिएको हो या अरु प्रयोजनका लागि दौडिएको हो, आफूलाई अहिलेसम्म थाहा नभएको बताए ।
चितवन प्रहरीले गाडी आगजनीप्रति गहिरो अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रिजालले घटनाको अनुसन्धान भइरहेको बताए । उनले भने, ‘आगजनी गर्नेहरुको पहिचान गर्ने क्रममा छौँ, चाँडै पक्राउ गरी नियन्त्रणमा लिने प्रयासमा लागिरहेका छौँ ।’
समितिका सचिव नेपालले घना बस्तीबाट रेलमार्ग नलैजाने र यसको विकल्प खोज्न सम्बन्धित निकायलाई आग्रह गरिरहँदा पनि सो क्षेत्रमा सर्भेका गतिविधि भइरहेको हुनाले शङ्का उब्जिरहेको बताए । उनले भने, ‘नयाँ सरकार बनेको छ, हामी सरकारको ध्यानाकर्षण गराउन र प्रस्तावित मार्गको विकल्प खोज्न अनुरोध गर्नेछौँ ।’
हालको प्रस्तावित पूर्वपश्चिम रेलमार्ग चितवनको राप्ती नगरपालिकाको १, २, ३ र ६, खैरहनी नगरपालिकाको ५, ७ र १०, रत्ननगर नगरपालिकाको ४, ५ र ९, त्यस्तै भरतपुरको ८, ७, ५, ४ र १६ नम्बर वडा हुँदै जाने गरी प्रस्तावित गरिएको छ । सो मार्गमा भरतपुर महानगरपालिकामा उल्लेखित अधिकांश वडाहरु सहरी क्षेत्रमा पर्दछन् । प्रस्तावित रेलमार्ग घना बस्तीमा पर्ने भएकाले यसको विकल्प खोज्न स्थानीयले माग गर्दै आइरहेका छन् ।