काठमाडौं,साउन ६- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले देशमा व्याप्त गहिरो निरासा हटाएर जनतामा आशा र उत्साहको सञ्चार गर्दै देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको दाबी गरेका हुन् ।
- ADVERTISEMENT -
‘देशमा व्याप्त गहिरो निरासा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सवै स्पष्ट हुनु भए हुन्छ ।’
- ADVERTISEMENT -
राष्ट्रपति रामचन्द्र पौडेलबाट असार ३० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष ओलीले असार ३१ गते शपथग्रहण गरेका थिए ।
- ADVERTISEMENT -
प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेको तेस्रो दिन साउन २ गते संसद् सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने जानकारी गराएका थिए ।
- ADVERTISEMENT -
उनले संसद् सचिवालयलाई संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मतका लागि साउन ६ मा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिदिन अनुरोध गरेका थिए।
नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ जना सांसदहरुको मत आवश्यक पर्छ ।
नेपाली कांग्रेससँगै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सरकारमा सहभागिता रहेका कारण संसद्मा प्रधानमन्त्रीसँग सुविधानजनक बहुमत छ ।
सरकारमा सहभागी दलहरुको प्रतिनिधित्व हेर्दा अहिले प्रधानमन्त्री ओलीसँग १७७ मत छ । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेससँग ८८, प्रधानमन्त्रीको दल एमालेसँग ७८, अशोक राई नेतृत्वको जसपासँग ७ र महन्थ ठाकुर नेतृत्वको लोसपासँग ४ सांसद छन् ।