देवघाट, साउन ३- यही नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै नयाँ निर्मित प्रशासकीय भवनबाट सेवा दिने देवघाट गाउँपालिकाको तयारी थियो । तर, प्राविधिक काममा थोरै ढिलाइ हुँदा करिब २० दिनजति ढिला हुने भएको छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरका अनुसार बिजुली जडानको काममा प्राधिकरणले ढिलाइ गरिदिँदा समयमै सर्न नपाएको हो ।
‘बिजुली जोडेर परीक्षण गर्नमात्रै बाँकी छ । अरू सबै तयारी सकियो’, उनले भने, ‘हामी साउन १ देखि नयाँ प्रशासनिक भवनबाटै सेवा दिने तयारीमा थियौँ, विद्युत्कै कारण ढिला भएको हो ।’ विद्युत्बाट समयमै काम नगरिदिएपछि गाउँपालिकाले हाल बसिरेहकै घरमा एक महिना म्याद थप गरेर सेवा दिइरहेको उनले बताए । ‘थ्री फेजको विद्युत् चाहिन्छ, तर भरतपुर वितरण केन्द्रले समयमै काम नगरिदिँदा यो समस्या आएको हो’, उनले भने, ‘तैपनि साउनको २० गतेसम्ममा सर्न सकिन्छ कि भन्ने छ ।’
- ADVERTISEMENT -
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले भने उक्त कार्यप्रति अनभिज्ञता प्रकट गरेको छ । ‘बल्ल आज पत्र आएको छ । अब यसपछि बल्ल प्राविधिक पठाउने काम हुन्छ, यसअघि मलाई कुनै जानकारी थिएन’, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले भने, ‘पत्र आउनासाथ तोक लगाइदिएको छु, अब काम हुन्छ ।’
- ADVERTISEMENT -
तर, गाउँपालिकाले सडक बत्तीको शुल्क नबुझाएका कारण नयाँ भवनमा विद्युत् जडानको कामप्रति प्राधिकरणले नै चासो नदेखाएको उनले बताए । ‘सडक बत्तीको शुल्क बुझाउने दायित्व पनि पूरा गर्नुपर्ने होला नि’, उनले भने, ‘पालिकाले त्यति रकम बुझाउन त सक्थ्यो होला । त्यति सानो काम पनि अल्झाइदिएपछि हामीलाई नि समयमै काम गर्नुपर्छ भन्ने जरूरी छैन ।’ उनका अनुसार देवघाट गाउँपालिकाले भरतपुर वितरण केन्द्रमा सडक बत्तीको शुल्कमात्रै करिब १७ लाख रूपैयाँ हाराहारीमा बुझाउन बाँकी छ ।
- ADVERTISEMENT -
देवघाट गाउँपालिकाले वडा नं–५ स्थित क्युदीमा ४२ कोठाको तीनतले प्रशासनिक भवन निर्माण गरेको हो । आफ्नै भवन निर्माण भएपछि गाउँपालिकाले वार्षिक कार्यालयको भाडाबापतको १८ लाख रूपैयाँ जोगिने भएको छ । गाउँपालिकाले केन्द्र र प्रदेश सरकारबाट ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी गरी कुल पाँच करोड रूपैयाँमा भवन निर्माण गरेको हो ।
- ADVERTISEMENT -
गाउँपालिकाका प्रमुख इन्जिनियर तीर्थराज ढुङ्गानाका अनुसार भवन निर्माणको सम्पूर्ण काम सकिए पनि बाहिरी संरचना निर्माणको काम भने थालिएको छैन । करिब ४५ रोपनी क्षेत्रफलमा फैलिएको गाउँपालिकाको प्रशासकीय भवनलाई आवश्यक पर्ने बाहिरी संरचनाहरु शौचालय, खानेपानी, कम्पाउन्ड, पार्किङ, प्रतीक्षालय, सुरक्षागृह, आकर्षक बगैँचा (गार्डेनिङ)लगायत निर्माण गर्न बाँकी नै छ ।
प्रमुख इन्जिनियर ढुङ्गानाका अनुसार हालको अवस्थामा ती सबै संरचना निर्माणका लागि पनि कम्तीमा दुई करोड रूपैयाँ खर्च लाग्ने अनुमान छ । तर, समय र आवश्यकताअनुसार बिस्तारै थप गर्दै लैजाने उनले बताए । ‘पालिकाको बजेटले एकैपटकमा काम गर्न सकिँदैन, त्यसकारण त्यसलाई बिस्तारै पूरा गर्दै लैजाने हो’, उनले भने ।