काठमाडौं, साउन २- प्रधानमन्त्री केपी ओलीले केही दिनभित्रै विश्वासको मत लिने तयारी थालेका छन् । एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिनेगरी तयारी थालिएको हो ।
‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं,’ ती नेताले भने, ‘सम्भवतः आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं । आज साँझसम्म यसको टुंगो लाग्छ ।
- ADVERTISEMENT -
प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ । संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकुलता आउन सक्ने र त्यसपछि धारा ७६.३ मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि भन्ने कोणबाट पनि राजनीतिक वृत्तमा छलफल चल्ने गरेका छन् । ओलीले यो बहसलाई समेत किनारा लगाउँदै सहज ढंगले अघि बढ्न तुरुन्तै विश्वासको मत लिन चाहेको एमाले स्रोतले बताएको छ ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -