भरतपुर, साउन १- चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) मा आज साउन १ गतेबाट स्वास्थ्य बीमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बीमा मार्फत् उपचार सेवा दिने भनी स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच शुक्रबार सम्झौता भएको हो । नयाँ मेडिकल कलेजले सेवा दिन थालेपछि चितवनमा स्वास्थ्य बीमा सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ ।
चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुणस्तरीय स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचको सुनिश्चितताका लागि बीमा कार्यक्रम पुन: थालिएको बताए । सामान्य नागरिकका लागि बीमा सुविधा निकै प्रभावकारी रहेको भन्दै निर्देशक डा. लम्सालले बोर्डले सार्वजनिक गरेको को पेमेन्ट (सह भुक्तानी ) ले उपचारमा पैसाको दुरुपयोग रोक्ने विश्वास व्यक्त गरे । हामी कहाँ वीस भन्दा बढी सुपर स्पशलिष्ट सेवा छन्, अन्य अस्पतालमा नभएका सेवा पनि छन्, जसले गर्दा यहाँ आउने विरामीले गुणस्तरीय र विविध सेवा पाउनेमा हामी विश्वास दिलाउन चाहान्छौं, उनले भने ।
- ADVERTISEMENT -
दुई वर्ष अघि सरकारले वजेट भाषण मार्फत अव देखि सरकारी र सामुदायिक स्वास्थ्य संस्थाले मात्र बीमा कार्यक्रम चलाउने भनेकाले सोही आर्थिक वर्षबाट लागु हुने गरी वीमा कार्यक्रम अस्पतालले रोकेको थियो । बीमा मार्फत एक लाख रुपैयाँ सम्मको उपचार सुविधा लिन सकिन्छ ।
- ADVERTISEMENT -
स्वास्थ्य बीमा आवद्ध हुने प्रत्येका परिवारले ५ जनासम्मको वार्षिक ३ हजार ५ सय र सो माथि परिवार सदस्य रहेमा प्रत्येकको थप ७ सय रुपैयाँ लाग्छ । बीमा सेवा लिने व्यक्ति आफैले सरकारी अस्पतालमा उपचार गराएमा १० प्रतिशत र निजी अस्पतालबाट उपचार गराएमा २० प्रतिशत रकम तिर्नुपर्छ । जसलाई बीमा बोर्डले सहभुक्तानी भनी परिभाषित गरेको छ ।
- ADVERTISEMENT -
चितवनमा वघौडा अस्पताल माडी, बकुलहर अस्पताल, भण्डारा अस्पताल, भरतपुर आँखा अस्पताल, भरतपुर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, पूरानो मेडिकल कलेज, गुञ्जमान सिं अस्पताल रत्ननगर, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, मनकामना अस्पताल र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले हाल स्वास्थ्य बीमा कार्यक्रम चलाइरहेका छन् ।