काठमाडौं,असार ३१- नेपाल प्रहरी अन्तर्गत रहने प्रहरी चारित्रिक प्रमाणपत्रको वेबसाइटमाथि साइबर आक्रमण गरेको बंगलादेशी ह्याकरले दाबी गरेका छन् । शुक्रबार एक टेलिग्राम च्यानलमा उक्त वेबसाइटबाट लिएको डेटाको केही नमुना राख्दै ह्याकरहरूले यस्तो दाबी गरेका हुन् ।
टेलिग्राम च्यानलमा लिक स्क्रिनशटमा अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र लिन वेबसाइटमा अकाउन्ट खोलेका व्यक्तिको लगइन र प्रहरीले उपलब्ध गराएको प्रमाणपत्रका विवरण देख्न सकिन्छ ।
- ADVERTISEMENT -
ह्याकरले कति जनाको के-कस्ता डेटा लिए भनेर खुलाएका छैनन् । तर अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र दर्ता प्रणालीको वेबसाइट भने अहिले चलिरहेको छ ।
- ADVERTISEMENT -
साइबर सुरक्षा क्षेत्रका एक जानकारले नेपाली ह्याकरसँग बदला लिन बङ्गलादेशी ह्याकरले नेपाल प्रहरीलाई निशानामा पारेको बताएका छन् ।
- ADVERTISEMENT -
उनका अनुसार केही दिनअघि ‘एनोनिमस नेपाल’ नामको नेपाली ह्याकर समूहले बङ्गलादेशी प्रहरीको वेबसाइटको विभिन्न सबडोमेनमाथि आक्रमण गरेको थियो । त्यसैको प्रतिशोध साध्न बङ्गलादेशी ह्याकरले प्रहरी चारित्रिक प्रमाणपत्र लिने नेपाल प्रहरीको वेबसाइटमा आक्रमण गरेको उनको भनाइ छ ।
- ADVERTISEMENT -
यसबारे भने नेपाल प्रहरीले केही प्रतिक्रिया दिएको छैन ।
पछिल्लो समय बदलाको भावनाबाट सुरु भएको साइबर आक्रमणको स्वरूप दिनानुदिन भयानक हुँदै गइरहेको छ । यसअघि पनि सोही समूहले लोक सेवा आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय लगायत डट जीओभी डट एनपी (.gov.np) डोमेन भएका सरकारी वेबसाइटमाथि साइबर आक्रमण गरेको थियो ।