खैरहनी, असार३१- खैरहनी नगरपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नगरपालिकाले गरेको कार्यसम्पादन, विकास निर्माणका कामका बारे नगरवासीको जिज्ञासा सुन्नुका साथै रायसल्लाह लिने उद्देश्यले कार्यक्रम गरिएको हो ।
उपस्थित नगरवासीले शिक्षामा लगानीअनुसार प्रतिफल आउन नसक्नुका कारण पत्ता लगाएर गुणस्तर वृद्धि गर्नुपर्ने, निर्माणको काम गुणस्तरीय हुनुपर्ने, बेरोजगार अन्त्य गर्ने खालका योजना ल्याउनुपर्ने, विकृति र विसङ्गति रोक्न तथा सभ्य समाज निर्माणका लागि जनचेतनामूलक कार्यक्रमलगायतका गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा विष्णुप्रसाद बास्कोटा, भेषराज खनाल, राज सिलवाल, उत्तम अधिकारी, मोहदत्त सापकोटा, रामेश्वर पोखरेल, शकुन्तला अधिकारी, गणेश मल्ललगायतले आआफ्ना जिज्ञासा तथा सुझाव राखेका थिए ।
- ADVERTISEMENT -
सहभागीहरुको जिज्ञासा सुनिसकेपछि नगरप्रमुख शशिकुमार खनियाँले सीमित स्रोतसाधनका बाबजुद विकास निर्माणदेखि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताए । साथै सुशासन कायम गर्र्ने प्रयास पनि भएको उनको दाबी थियो ।
- ADVERTISEMENT -
‘काम गर्ने सिलसिलामा कतै त्रुटि होला, प्राविधिक कमजोरी होला, त्यसलाई सुधार गर्दै लैजान्छौँ’, प्रमुख खनियाँले भने, ‘पछिल्लो दुई वर्षमा भएका कामलाई तपाईंहरुले मूल्याङ्कन गर्नुस्, कमजोरी सुधार्दै अघि बढ्ने छौँ, यसमा तपाईंहरुको साथ चाहिन्छ ।’ स्थानीय तहको क्षेत्राधिकारमा रहेर काम गरिरहेको भन्दै प्रमुख खनियाँले दम्भ र अहङ्कार नराखी, नगरवासीको विश्वासलाई घात नगरी काम गरेको बताए ।
- ADVERTISEMENT -
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले नगरपालिकाले चालू आर्थिक वर्षमा गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए । समग्रमा पुँजीगत खर्च नगरपालिकाको उत्साहजनक रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले पछिल्ला वर्षहरुमा संघीय सरकारबाट कम बजेट प्राप्त हुँदै गएको र यो चुनौतीको रुपमा रहेको बताए ।
- ADVERTISEMENT -
नगरप्रमुख खनियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख कविता उप्रेती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरुलगायत नगरवासीहरुको उपस्थिति थियो ।