कृषि क्षेत्रको अनुसन्धानमा राज्यको लगानी न्यून

July 11, 2024
- ADVERTISEMENT -

काठमाडौँ,असार २७ – कृषि क्षेत्रमा विकासका लागि अनुसन्धान मुख्य आधार हुने भए पनि यस क्षेत्रमा खासै लगानी नभएको विज्ञहरूले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय जलवायु परिवर्तनका कारणले देखिएको नयाँ रोग, किराको प्रकोप, समय सापेक्ष बीउ र प्रविधि विस्तार हुन नसक्नु कृषि क्षेत्रको मुख्य समस्या हो । तर यी विषयमा पर्याप्त अनुसन्धान हुन सकेको छैन ।

- ADVERTISEMENT -

Advertisement

बाली बिरुवामा देखा पर्ने नयाँ रोग र किराको समाधान पहिल्याउन, युवालाई कृषिमा  आकर्षण गर्न, कृषिमा प्रविधि लागु गर्न अनुसन्धानको मुख्य भूमिका रहने सम्बद्ध अधिकारीको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

देशभरको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ०.३९ प्रतिशत मात्रै कृषिको अनुसन्धानमा लगानी रहेको कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचनले बताए । नेपालमा उत्पादन बढाउनका लागि अनुसन्धानमा लगानी गर्नुपर्ने उल्लेख गरे । ‘एरिया र प्रोड्क्शन बढे पनि प्रोडक्टिभिटी खासै बढेन,’ उनले भने, ‘प्रोडक्टिभिटी बढाउन टेक्नोलोजीको इनोभेशन र इन्भेस्टमेन्ट आवश्यक छ ।’

देशभर कृषिमा अनुसन्धान गर्दै आएको एकमात्र निकाय कृषि अनुसन्धान परिषद् (नार्क)लाई चालु आर्थिक वर्ष कुल कृषि बजेट ५७ अर्ब २९ करोडमध्ये ३ अर्ब ५२ करोडमात्रै छुट्ट्याइएको थियो ।

कृषि क्षेत्रको अनुसन्धानमा राज्यको लगानी न्यून देखिएको छ । देशको जम्मा बजेटको ३.३७ प्रतिशतमात्र कृषिको अनुसन्धान र विकासमा खर्च हुने नार्क अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका प्रमुख तथा मुख्य वैज्ञानिक डा. टिकाराम चापागाईले बताए । 

‘ कृषिको सो  बजेटमध्ये ५.६६ प्रतिशत नार्कले प्राप्त गर्ने देखिन्छ,’ उनले भने, ‘राष्ट्रिय बजेटको सन्दर्भमा हेर्ने हो भने ०.१९ प्रतिशत मात्रै कृषि अनुसन्धानमा खर्च हुने देखियो ।’

डा. चापागाईले अनुसन्धानमा थोरै लगानी गरेर धेरै आश गर्न नहुने बताए । ‘अन्तर्राष्ट्रियस्तरमा कुल बजेटको ९ देखि १० प्रतिशत अनुसन्धानमा लगानी देखिन्छ,’ उनले भने, ‘हाम्रोमा थोरै लगानी गरेर धेरै प्रतिफलको अपेक्षा राख्न कति उपयुक्त हुन्छ भन्ने हो ।’

पूर्वकृषि सचिव डा. गणेश जोशीका अनुसार गैरकृषिभन्दा कृषि क्षेत्रको उत्पादन वृद्धिले गरिबी घटाउन प्रभावकारी भूमिका खेल्छ ।

जोशीका अनुुसार कृषि रुपान्तरणमा प्रविधिको योगदान वृद्धि (१९८४ देखि २०१४) तीस वर्षमा १ प्रतिशत मात्रै छ । यसको अर्थ नेपालको कृषिमा तीस वर्षमा प्रविधिको योगदान ३० प्रतिशतमात्रै देखिन्छ ।  

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रका डा. लक्ष्मीकान्त शर्माले प्राविधिमा जोड दिए कृषि उत्पादन वृद्धि हुने बताए । ‘फुड सेक्युरिटी छैन । कर्णालीमा भोकमरी हुन्छ, त्यसकारण कृषिमा रुपान्तरण आवश्यक छ,’ उनले भने, ‘प्रविधिमा जोड दिए उत्पादन बढ्छ ।’

डा.शर्माले उपभोक्ता बढी र बजार भएको क्षेत्र आसपास कृषि उत्पादनमा जोड दिनुपर्ने सुझाए । ‘कृषककै माझमा कृषि विज्ञ पुग्नु पर्छ, सिमान्तकृत सामुदायलाई कृषिसँग जोड्नु प¥यो,’ उनले भने, ‘पशुपालनलाई पछिल्लो समय जोड्न सकिएको छैन, आयात हुने वस्तु उत्पादनमा जोड दिनुपर्छ ।’

कृषि क्षेत्रको समस्यालाई पहिचान गरी अनुसन्धानमा लगानी गर्न नसके नेपाल परनिर्भर  हुँदै जाने विज्ञहरूको तर्क छ । नेपालले बर्सेनी ठुलो परिमाणमा अन्न, तरकारी, फलफूल आयात गर्दै आएको छ ।

किन आवश्यक छ कृषिमा अनुसन्धान र लगानी

नेपालमा पछिल्लो समय बाली बिरुवा तथा पशुपन्छीमा नयाँ–नयाँ रोग किरा देखा परेका छन् । उदाहरणका लागि गहँु बालीमा लाग्ने सिन्दुरे रोगको प्रजाति ‘यूजी ९९’ को ‘टीटीकेटीटी’ रोग, केरामा लाग्ने पनामा, मुसुरो बालीको ‘भाइरस’ र पशुमा लाग्ने लम्पी स्किन लगायत समस्या पछिल्लो समय नेपाली कृषि तथा पशु क्षेत्रमा देखिएका छन् ।

तर यस्ता समस्या के कसरी समाधान गर्ने भन्ने विषयमा लगानी र जनशक्तिको पर्याप्तता हुन नसक्दा अनुसन्धानमा समस्या देखिने नार्क अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका डा. राम बहादुर खड्काको भनाइ छ ।

डा. गौचन अबका युवा हलो, गोरु र कोदालो बोकेर कृषि नगर्ने बताउँदै उनीहरूलाई प्रविधिमैत्री, यन्त्रमैत्री कृषिको खाँचो रहेको औँल्याउँछन् । यसका लागि अनुसन्धान नै गर्नुपर्ने उनको भनाइ छ ।

नेपालको खेतीयोग्य जमिन बासस्थानमा परिणत हुँदै गएको छ । जसले गर्दा खेतीयोग्य जमिन घटेको छ । तर यसमा पनि अनुसन्धान भने हुन सकेको छैन । कृषि उपज दुध, तरकारी लगायत वस्तु बजार नपाएर वा मूल्य पाउन नसकेर सडकमा फाल्ने गरिएको छ । यसको पनि अनुसन्धान हुन नसकेको विज्ञहरूले बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ‘कृषि लगानी दशक’ घोषणा गरेको छ । तर सो लगानी दशकको आधार के हुने भनेर उल्लेख गरिएको छैन । उत्पादनदेखि लिएर उपभोक्तासम्म कृषिमा अनुसन्धान र लगानी आवश्यक देखिएको उनीहरूको तर्क छ ।

अनुसन्धान र लगानी नहुँदा परनिर्भर बन्दै

नेपालले ११ महिनामा मात्रै ४३ अर्बभन्दा बढीको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ४३ अर्ब ८० करोड रुपैयाँ बराबरको ९ लाख मेट्रिक टन खाद्यान्न आयात भएको हो । सोबाट सरकारले २ अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै, नेपालले ११ महिनाको अविाधिमा २६ अर्ब ७ करोड रुपैयाँको तरकारी आयात गरेको छ । सो बापत सरकारले ४ अर्ब बराबर राजस्व सङ्कलन गरेको छ । विभागको तथ्याङ्क अनुसार २१ अर्ब ९९ करोडको फलफूल आयात भएको छ । सो बापत सरकारले ६ अर्ब राजस्व सङ्कलन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -