काठमाडौं, असार२५- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेश लेखकले विश्वासको मत प्रस्ताव राख्ने तयारी गरिरहेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरू संसदमा देखा नपरेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतकसमेत रहेका लेखकले पछिल्लो समय प्रधानमन्त्री र मन्त्रीहरू पनि बैठकमा उपस्थित नभएको बताएका हुन्।
- ADVERTISEMENT -
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गतेको प्रतिनिधि सभामा विश्वासको मत प्रस्ताव राख्ने तयारी गरिरहेका छन्। यससम्बन्धी कार्यसूची राखिदिन प्रधानमन्त्री दाहालले गरेको आग्रहअनुसार विश्वास मतका लागि सभामुख देवराज घिमिरेले असार २८ गतेको बैठकलाई तोकेका छन्।
- ADVERTISEMENT -
बाढीपहिरो र डुबानमा परेकाहरूको स्थिति के छ भन्नेलगायत विषयमा सरकारले सदनलाई जानकारी नगराएको पनि लेखकले बताए।
- ADVERTISEMENT -
‘प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति संसदमा भइराखेको छैन,’ उनले भने, ‘सरकार विश्वासको मत लिने तयारी गरिरहेको छ। संविधानअनुसार सरकारले ३० दिन समय पाउनुपर्छ भन्ने आवाज पनि उठेको छ। त्यसमा केही द्विविधा छैन। २१ दिन अझै थप्दा पनि आपत्ति छैन। तर सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी हुनुपर्यो।’
- ADVERTISEMENT -
अविरल वर्षाका कारणले उत्पन्न भएका समस्या र जनधनको क्षतिबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।
गत असार १७ गते कांग्रेर र एमालेबीच नयाँ सरकार बनाएर जाने सहमति भएको थियो। एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन्।
प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थाअनुसार विश्वास मत लिन लागेका छन्।