प्रचण्डकै बाटो पछ्याउँदै बागमतीका मुख्यमन्त्री

July 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुर, असार२४- बागमती प्रदेश सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बाटो पछ्याइरहेको देखिन्छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम अनुसार संघमा नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत सामना गर्ने योजना बनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

केन्द्रमा बनेको गठबन्धनकै आधारमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि अल्पमतमा परिसकेका छन् । मुख्यमन्त्री जम्कट्टेलले पनि प्रधानमन्त्री प्रचण्डले झैँ विश्वासको मत सामना गर्ने योजना बनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

बागमती सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिइसकेको छ भने एमालेका मन्त्रीले समेत राजीनामा दिइसकेका छन् । प्रदेश सरकारबाट एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन् ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीको पक्षमा प्रदेश सभामा २९ जना सांसदमात्र सीमित भएका छन् ।

आइतबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिन तयार भएका हुन् । एमाले–कांग्रेस गठबन्धन अनुसार प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको र संसद्को दुई ठुला दल मिलेर सरकार बनाउँदा सहजै बहुमत पुग्ने भएकाले राजीनामा दिएर बाहिरिने तरखरमा मुख्यमन्त्री थिए । तर, संसदीय दलको बैठकले विश्वासको मत फेस गर्न सुझाव दिए अनुसार मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिन तयार भएका हुन् ।

गत २०७९ पुस २५ गते प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री जम्कट्टेलले ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका थिए । उनले एमाले, राप्रपा माओवादी केन्द्रको गठबन्धनबाट २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । सो समयमा उनले १०५ सांसदको समर्थन पाएका थिए ।

२०७९ फागुन १० मा एमाले र राप्रपा बाहिरिएपछि प्रदेश सरकार फेरि अल्पमतमा पर्यो । सो पश्चात् कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट चैत १० मा विश्वासको मत लिएका उनले ६७ सांसदको समर्थन पाए । उक्त समीकरण २०८० फागुन २१ मा ढले पश्चात् एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा उनले चैत १९ मा विश्वासको मत लिए । सो समय उनले सरकार गठन र टिकाउन आवश्यक सामान्य बहुमत अर्थात् ५६ सांसदको समर्थन पाएका थिए ।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

छिटै विश्वासको मत लिन्छुः मुख्यमन्त्री जम्कट्टेल

मुख्यमन्त्री जम्कट्टेलले छिटै संसद् बैठक आह्वान गर्ने र विश्वासको मत लिने बताए । सत्ता साझेदार दलहरूसँगको छलफलपछि विश्वासको मत लिने मिति तय गर्ने उनको भनाइ छ ।

उनका अनुसार संसद्को अंक गणितमा सरकार अल्पमतमा रहेकाले बहुमत सिद्ध गर्ने उद्देश्यले संवैधानिक अधिकार प्रयोग गर्ने तयारी छ । संविधान अनुसार एक महिनाभित्र विश्वासको मत लिने व्यवस्था रहेकाले छिटै मिति तय गर्ने उनले बताए । संविधानको व्यवस्थालाई सुविधाको रूपमा भन्दा पनि प्रक्रियागत रूपमा अघि बढाउने उनको भनाइ छ ।

सहमतीय सरकार निर्माणका लागि एमालेको आग्रह

सरकारबाट बाहिरिने क्रममा एमालेले माओवादी केन्द्रलाई सहमतीय सरकार निर्माणमा सहभागी हुन आग्रह गरेको छ । केन्द्रमा राष्ट्रिय सहमतिको सरकार निर्माणको तयारी भइरहेको भन्दै एमालेले प्रदेशमा पनि सहमतीय सरकार गठन गरेर अघि बढ्न सक्ने गरी निर्णय गर्न माओवादी केन्द्रलाई आग्रह गरेको छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई भेट गरेर सहमतीय सरकार गठनमा उपयुक्त निर्णय गर्न आग्रह गरेका हुन् । राज्य व्यवस्था र राजनीतिक स्थायित्वको लागि सहमतीय सरकार निर्माण गर्नु आवश्यक रहेको भन्दै उनले सहमतीय सरकारमा सहभागी हुनेगरी उपयुक्त निर्णय गर्ने मुख्यमन्त्री जम्कट्टेललाई आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -