रत्ननगर,असार २४ – रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले बर्खायामको समयमा बाढीपहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार तथा सहयोगका लागि सक्रियतापूर्वक तयारी अवस्थामा रहन नगरप्रहरीलाई निर्देशन दिएका छन् ।
उनले बर्खाको समयमा नगरभित्र हुनसक्ने सम्भाव्य विपद्का घटनालाई मध्यनजर गर्दै प्रकोप न्यूनीकरणको लागि नगरप्रहरी प्रमुख र मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
- ADVERTISEMENT -
विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीहरुको अनुगमन गर्दै मेयर सापकोटाले आवश्यक परेको समयमा तत्काल प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहत प्रदान गर्न स्थानीय सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए । ‘विपद्को समयमा पनि स्थानीय सरकार नगरवासीको साथमै रहन्छ’, उनले भने, ‘विपद्लाई कसैले टार्न नसके पनि विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न नगरपालिका सधैँ साथमा छ, रहन्छ ।’
- ADVERTISEMENT -
मेयर सापकोटाले भने, ‘विपद् व्यवस्थापनलाई छिटो छरितो र प्रभावकारी बनाउन स्थानीय सरकारले सबै सरोकारवाला निकायसँगको समन्वयमा विपद्को पूर्वतयारी, विपद् रोकथाम, विपद् उद्धार, राहत र पुर्नस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गर्छ ।’
- ADVERTISEMENT -
रत्ननगर नगरपालिकाले बाढीपहिरो, आगलागी, हावाहुरी तथा दुर्घटनालगायतका प्रकोप न्यूनीकरण गर्न वन, वातावरण तथा विपद् व्यवस्थापन शाखामार्फत श्री नम्बर २ गण रसौली व्यारेकसँग समन्वय गरी प्रत्येक वडाका युवालाई विपद् प्रतिकार्य तालिम दिइसकेको छ । सोहीअन्तर्गत सम्भावित विपद्का घटना न्यूनीकरण र पूर्वतयारीमा जुट्न तालिम प्राप्त जनशक्तिहरुलाई आग्रह गरिएको छ ।
रत्ननगर नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठले हरेक वर्ष ५० भन्दा बढी स्थानीय स्वयंसेवकहरुलाई विपद् व्यवस्थापन तालिम प्रदान गरिँदै आएको जानकारी दिए ।
विपद्को सम्भावित खतरा न्यूनीकरण र विपद् व्यवस्थापनका लागि आवश्यक परेको समयमा स्थानीय स्वयंसेवकहरुलाई तयारी अवस्थामा राखिएको उनले बताए । उनले सबैलाई आ–आफ्नो ठाउँबाट विपद् प्रतिकार्यमा एकजुट हुन आग्रह गरे ।
नगर प्रहरी इन्चार्ज छत्रबहादुर गुरूङले विपद्को समयमा हुनसक्ने घटनालाई न्यूनीकरण गर्न मेयर सापकोटाबाट निर्देशन प्राप्त भइसकेको र आफू मातहतका १२ जना नगरप्रहरी तयारी अवस्थामा रहेको बताए । आवश्यक सामग्रीको व्यवस्था गर्न आग्रह गरेअनुसार सबै सामग्री तयारी अवस्थामा राखेर काम गरिरहेको उनले बताए ।
‘नगरप्रहरीको जनशक्ति थोरै भए पनि सक्रियतापूर्वक तयारी अवस्थामा रहेका छौँ’, नगर प्रहरी इन्चार्ज गुरूङले भने, ‘विपद्को व्यवस्थापन गर्न सबैको सार्थक प्रयास हुनुपर्छ ।’ सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, प्रहरी कार्यालय, सामाजिक संस्थाहरूसँग समन्वय गरी काम गर्ने उनको भनाइ छ ।