पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

July 8, 2024
- ADVERTISEMENT -

गण्डकी, असार२४-   चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । १६औँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो ।

विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

‘स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ‘, उनले भने, ‘यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन ।’

- ADVERTISEMENT -

Advertisement

गत आर्थिक वर्षमा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकोमा चालु आवमा सरकारले जम्मा ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपिएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएस/ विष्णु जेभी’ले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो ।

- ADVERTISEMENT -

Advertisement

इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरुपमा दरबारको पुनर्निर्माण भइरहेको बताए । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनर्निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको इन्जिनियर अधिकारीले जानकारी दिए ।

ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनर्निर्माणमा अगुवाइ गरेको हो । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त देखिएको बताए ।

ऐतिहासिक धरोहरको रुपमा रहेको दरबार पुनर्निर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँसहरमा अवस्थित उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ । जीर्ण भएर अलपत्र अवस्थामा पुगेको दरबार पुनर्निर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताए ।

विसं १५५० मा राजा यशोब्रह्म शाहले शासन सुरु गरेको उक्त दरबारमा पुराना तोप, तरबार, भालालगायत सामग्री सुरक्षित छन् ।

दरबार परिसरमा लमजुङ राज्यका पहिलो राजा यशोब्रह्मा अर्थकदको सालिकसमेत बनाइएको छ ।

समुद्री सतहदेखि एक हजार चार सय ४५ मिटर उचाइमा रहेको उक्त दरबारमा सदरमुकाम बेँसीसहरदेखि ३० मिनेटको मोटर यात्रामा पुगिन्छ ।

पर्यटकीय गाउँ काउलेपानीदेखि नजिकै दरबार अवस्थित छ । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिका अध्यक्ष बोहोराले जानकारी दिए ।

लमजुङ दरबारको इतिहास

चौबीसे राज्य स्थापना हुने सिलसिलामा विसं १५२४ मा कास्की राज्य स्थापना भएको थियो । कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा. राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको आलेखमा उल्लेख छ ।

राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाहरुबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ उक्त आलेखमा छ ।

राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोबह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ ।

कास्कीकोटबाट आएका यशोबह्मले विसं १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए । राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा लमजुङ राज्यको राजा भए । नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रीपुमर्दन शाह, वीमर्दन शाह गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए ।

विसं १८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउने गर्दथे । प्राचिनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पर्दथ्यो ।

पृथ्वीनाराण शाहले बाइसे–चौबीसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले । विसं १८३९ मा पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -