काठमाडौं,असार२३- असार लागेसँगै बैंकिङ प्रणालीमा ७१ अर्ब ७२ करोड निक्षेप थपिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ४ देखि १६ असारसम्म यति निक्षेप थपिएको हो । आर्थिक वर्षको अन्य महिनाको तुलनामा असारमा बढी खर्च हुँदा निक्षेप पनि थुप्रिन थालेको हो ।
- ADVERTISEMENT -
४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६२ खर्ब ६३ अर्ब १६ करोड थियो । १६ असारमा आइपुग्दा यो ६३ खर्ब ३४ अर्ब ८९ करोड पुगेको छ । निक्षेप थुप्रिँदै जाने, तर कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी पनि वृद्धि हुँदै गएको छ । ४ देखि १६ असारको बीचमा १३ अर्ब ११ करोड ९९ लाखको कर्जा विस्तार भएको छ । लगानीयोग्य पुँजीको अवस्था मापन गर्ने कर्जा निक्षेपको अनुपात (सिडी रेसियो) १६ असारसम्म ७९.१८ प्रतिशत कायम भएको छ । ४ असारमा यस्तो अनुपात ७९.८७ प्रतिशत थियो ।
- ADVERTISEMENT -
जेठदेखि १६ असारसम्मको अवधि (करिब डेढ महिना) मा बैंक तथा वित्तीय संस्थामा एक खर्ब ४९ अर्ब १६ करोड निक्षेप बढेको छ । १ जेठमा ६१ खर्ब ८५ अर्ब ७२ लाख निक्षेप संकलन थियो । १६ असारमा यो ६३ खर्ब ३४ अर्ब ८९ करोड रुपैयाँ पुगेको हो । १ जेठमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब १० अर्ब सात करोड पुगेको थियो । १६ असारमा यो बढेर ५१ खर्ब ४९ अर्ब ४१ करोड कायम भएको थियो । यसबीच कर्जा प्रवाह ३९ अर्ब ३३ करोड ५३ लाख रुपैयाँले बढेको हो । १ जेठमा कर्जा निक्षेपको अनुपात ८०.३५ प्रतिशत रहेकोमा १६ असारसम्ममा ७९.१८ प्रतिशत कायम भएको छ ।
- ADVERTISEMENT -