सीप सिकेपछि आत्मनिर्भर बन्दै सदा समुदायका महिला

July 7, 2024
- ADVERTISEMENT -

उदयपुर, असार २३- जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन् । यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जङ्गलबाट दाउरा सङ्कलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका महिला सीप सिकेपछि सिलाइ कटाइबाट आत्मनिर्भर बन्दै गएका हुन् ।

त्रियुगा–६ जलजलेका पाँच जना मुसहर परिवारका सदा महिलाले आफ्नो परम्परागत पेसा छाडेर सिलाइ कटाइको तालिम लिएपछि अहिले ‘सिलाइ केन्द्र’ सञ्चालन गरी स्वरोजगार बन्दै गएका जिल्ला सिलाइ कटाइ सङ्घकी संयोजक ज्ञानु प्रधानले बताउनुभयो ।

दुई सय सदा महिलालाई तालिम दिएको बताउँदै प्रधानले पाँच जनाले सिलाइ केन्द्र सञ्चालन गरिरहेका जानकारी दिनुभयो । “मुसहर जातिका महिला पढ्नलेख्न नपाउँदा परम्परागत पेसा गर्न बाध्य थिए । अहिले सीप सिकेपछि स्वरोजगारतर्फ उन्मुख भइरहेका छन्”, उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला घरेलु तथा साना उद्योग महासङ्घ र त्रियुगा नगरपालिकाको सहयोगमा पटकपटक गरी दुई सयलाई सामान्य, मध्यम र ‘एडभान्स’ तालिम दिइएको भन्दै तालिम लिइसकेपछी पाँचजना सदा महिलाले केन्द्र सञ्चालनसँगै आफ्नो परम्परागत पेसा परिवर्तन गरेका संयोजक प्रधानले बताउनुभयो । जलजले बजारमा ‘प्रिन्सा सामूहिक टेलर्स’ मार्फत सुनिता सदा, यशोदा सदा, रामवती सदा, फुलवती र दीपा सदा स्वरोगार बन्दै गएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

यशोदाले भन्नुभयो, “सिलाइ कटाइ तालिम लिएपछि सामुहिक रुपमा सिलाइ केन्द्र सञ्चालन गरी परम्परागत पेसा छोडेका छौँ । अहिले हामी व्यावसायिक सिलाइमा आबद्ध छौँ ।” सामान्य, मध्यम र एडभान्स गरी तीन चरणमा करिब एक वर्ष तालिम लिएको भन्दै तालिपछि व्यावसाय सञ्चालन गर्न सक्षम बनेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

नगरपालिका र साना घरेलु उद्योग महासङ्घको सहयोगमा पाँच वटा सिलाइ मेसिनसमेत सहयोग प्राप्त गरेपछि पाँच महिनादेखि सामूहिक टेलर्स सञ्चालन गरिरहेको रामवतीले जानकारी दिनुभयो । आफूहरु समुदायमा पनि दलित परिवारमा पर्ने भएकाले विद्यालय पढ्न नपाएको तथा सानैदेखि परम्परागत काम गर्न बाध्य रहेको बताउँदै तालिम पश्चात् आत्मनिर्भर बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

“सानैदेखि जङ्गलको दाउरा बोकेर बिक्री गर्ने, जङ्गल तथा खेतबाट घर पोत्ने माटो ढकीमा बोकेर बिक्री गर्ने, घर निर्माणका लागि गिटी, बालुवा, सिमेन्टलगायत सामग्री बोकेर जीविकोपार्जन गर्दै आएका थियौँ”, रामवतीले भन्नुभयो, “अहिले केन्द्र सञ्चालन गरेपछि काममा सहजता हुनुका साथै आर्थिकस्तरमा पनि सुधार हुँदै भएको छ ।” उहाँले अन्य गाउँले दिदीबहिनलाई सीप विकास गरी स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्नेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सिलाइ समूहकी अध्यक्ष यशोदाले महिलाले लगाउने हरेक किसिमका कपडा सिलाउने सीप तालिमबाट सिकेको बताउँदै पुराना कपडा मर्मत, कटाइ, पुरुषले लगाउने सर्ट, पाइन्ट, कोटसहित स्कूल, कलेजका पोसाकहरु सिलाइ गरिने जानकारी दिनुभयो । केन्द्रमा सबै खर्च कटाएर रु एक लाखसम्मको सिलाइ कार्य गर्ने गरेको यसोदा बताउँछिन् ।

परम्परागत पेसा छाडेर सिलाइ कटाइमा आबद्ध हुनुभएकी सुनिताले सानैदेखि शारीरिक परिश्रम गरेको सम्झदै पढ्नलेख्न पनि नपाएको बताउनुभयो । “सिलाइसम्बन्धी सीप सिकेपछि यो काम गर्न सहज भएको छ । महिलाले सीप सिकेर यस्ता काममार्फत स्वरोजगार बन्नेतर्फ लाग्नु पर्छ”, उहाँले भन्नुभयो ।

पटकपटक गरेर करिब १४ महिना तालिम लिएपछि आफू सक्षम भएको सुनिताको भनाइ छ । केन्द्रबाट सामूहिक रुपमा मासिक रु ८० हजारदेखि रु एक लाखसम्म आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । “परम्परागत पेसा छोडेसँगै बिस्तारै गाउँका अन्य महिलालाई पनि केन्द्रमा आबद्ध गराउन पहल गर्नेछौँ”, उहाँले भन्नुभयो ।

लामो समयदेखि सुकुम्बासी भएर बस्दै आएका त्रियुगा–६ जलजलेका पाँचजना सदा महिला स्वरोजगार बनेको देखेपछि गाउँका अन्य पनि प्रेरित हुँदै गएका सुनिताका बुबा ७० वर्षीय जीवेन्द्र सदाले बताउनुभयो । महिलाले सीप सिकेर अर्थिक आम्दानीका स्रोत विकास गरी सहज जीवनयापनतर्फ अग्रसर हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।

“छोरीलाई दुःखका कारण सानोमा पढाउन सकिन, अहिले सिलाइ सीप सिकेर राम्रो कमाई गर्न थालेकोमा खुशी लागेको छ”, जीवेन्द्रले भन्नुभयो, “छोरीले परिवारलाई पनि कपडा सिलाएर लगाइदिने गरेकी छिन् । यसअघि बाहिर सिलाउनुपर्दा खर्च बढी लाग्ने र टिकाउ पनि नहुने हुँदा सास्ती थियो ।”

सिलाइ कटाइ सङ्घकी संयोजक प्रधानले भन्नुभयो, “यहाँका दुई सयमध्ये पाँच जनाले व्यवसाय सञ्चालन गरेर उदाहरणीय काम गर्नुभएको छ । अन्य महिलाले पनि आफूले सिकेको सीपको सदुपयोग गरी आत्मनिर्भर बन्दै जानुपर्ने अवस्था आएको छ ।” आफूले सिकाएको सीपमार्फत स्वरोजगार बनेका देख्दा निकै उत्साहित भएको उहाँले बताउनुभयो । त्रियुगा–६ को जलजलेमा ९८ सदा परिवार बसोबास गर्दै आएका छन् । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -