माझगाउँ माविको कृषिमा जोड : विद्यार्थीलाई सिकाइँदै सैद्धान्तिक र व्यावहारिक ज्ञान

July 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामना,असार २०- माझगाउँ माध्यमिक विद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउनको लागि कृषिलाई जोड दिँदै आएको छ । आलु, काउली, मुला, प्याज, लसुन, खुर्सानी, भिण्डीलगायत खेतीपाती गर्दै आएको विद्यालयले यसपटक भने काउली र सिमी लगाएको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै दैनिक जीवनमा प्रयोगमा आउने व्यावहारिक ज्ञानका लागि थोरै जमिनमा खेतीपाती गर्दै आएको विद्यालयले जनाएको छ ।

विद्यालयसँग भएको जग्गाको सदुपयोग गर्नको लागि पनि कृषिलाई जोड दिइएको विद्यालयका प्रधानाध्यापक कमल गुरूङले बताए । ‘विद्यालय हाताभित्रै खेतीपाती गर्दा विद्यार्थीमा व्यावहारिक ज्ञान त हुने नै भयो । खाली जग्गाको सदुपयोग हुनुका साथै दुई पैसा आम्दानी पनि हुने भयो,’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

यसपटक करिब दस कठ्ठा क्षेत्रफलमा काउली र सिमी लगाएको उनले बताए । ‘सिमी र काउलीले उत्पादन दिने बेला भएको छ,’ उनले भने । विद्यालयले यसअघि ५० वटा कागतीको बिरूवासमेत लगाएको थियो । तर, नयाँ बिरूवा खडेरी तथा डढेलोका कारण जोगाउन नसकिएको उनले बताए । ‘केही बिरूवा बचेका छन् । तर, सोचेजस्तो राम्रो भएको छैन,’ उनले भने, ‘कागतीका लागि हावापानीसँगै मलजलको तालमेल मिलेन कि भन्ने पनि लागेको छ ।’

- ADVERTISEMENT -

Advertisement

तर, यस क्षेत्रमा सुन्तलाको उत्पादन राम्रो हुने भएकोले यसवर्ष विद्यालयले सुन्तलाका नयाँ बिरूवा लगाउने योजना बनाएको प्रधानाध्यापक गुरूङले जानकारी दिए । ‘गाउँपालिकाले अनुदान दिने भएपछि दुई सयवटा बिरूवाको लागि फाराम भरेका छौँ,’ उनले भने, ‘पालिकाले बिरूवा उपलब्ध गराएपछि लगाउँछौँ ।’ सुन्तलाको लागि उचित हावापानी भएको हुँदा सुन्तला खेती सफल हुने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिकाकै सुझावअनुसार सुन्तलाको बिरूवा लगाउने योजना बनाएको उनले बताए । ‘यसवर्ष करिब तीन सयको हाराहारीमा सुन्तलाको बीउ जमाएका थियौँ । तर, १५० जति उम्रेको होला,’ विद्यालयका प्रधानाध्यापक गुरूङले भने, ‘जङ्गलको नजिक भएकोले सुन्तलाको बेर्नालाई पनि डढेलोबाट जोगाउनै मुस्किल प¥यो ।’ यसपटक गाउँपालिकाले दिने बिरूवा लगाएपछि दुई तीन वर्षमा आफैँले जमाएको बिरूवा रोप्न मिल्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिकाले भने उक्त विद्यालय आसपासका क्षेत्र सुन्तला खेतीका लागि उपयुक्त भएकोले परीक्षणको लागि पनि सुन्तलाका बिरूवा वितरण गर्ने तयारी गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार सुन्तला अनुसन्धान केन्द्र धनकुटाको प्राविधिक सहयोगमा सुन्तलाका बिरूवा वितरण गर्न लागेको हो । ‘यो वर्ष हामीले कलमी गरेको दस हजार बिरूवासहित दुई हजार छ सय बिरूवा वितरण गर्ने तयारी थालेका छौँ,’ अध्यक्ष गुरूङले भने, ‘आगामी वर्ष पनि यसलाई निरन्तरता दिने योजना छ ।’

गाउँपालिकाले २०८० सालमा इच्छाकामनामा सुन्तला प्रवद्र्धनको लागि सुन्तला महोत्सव नै सञ्चालन गरेको थियो । गाउँपालिकालाई सुन्तलाको पकेट क्षेत्र बनाउन पनि गाउँपालिकाले विभिन्न खालको प्रयास थालेको हो । इच्छाकामनामा रहेका पुराना बिरूवा मासिँदै गएपछि नयाँ बिरूवा लगाउने अभियान थालेको गाउँपालिकाका अध्यक्ष गुरूङले जानकारी दिए ।

२०१८ सालमा स्थापना भएको माझगाउँ प्राथमिक विद्यालय २०६५ सालबाट माध्यमिक बनेको हो । इच्छाकामना गाउँपालिकाको वडा नं.३ मा पर्ने यस विद्यालयले करिब पाँच बिघा जमिन चर्चेको छ । विद्यालयमा हाल १०८ जना विद्यार्थी अध्ययनरत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -