काठमाडौं, असार १९– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक पार्टी कार्यालय चःमतिमा बुधबार बसेको छ।
बैठकमा महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल भएको छ।
- ADVERTISEMENT -
केन्द्रीय सदस्यहरूलाई समीक्षा प्रतिवेदनमाथि बोल्न ७ मिनेटका दरले समय दिइएको छ।
- ADVERTISEMENT -
प्रतिवेदनमाथि धारणा राख्ने केन्द्रीय सदस्यले महामन्त्री डा. ढकालको कार्यशैलीमाथि प्रश्न उठाएको सहप्रवक्ता मनिष झाले बताए।
- ADVERTISEMENT -
‘अहिले प्रतिवेदन वाचन मात्र भएको छ। त्यसको अपनत्व लिने, कार्यान्वयनमा लैजाने वा नलैजाने कुरा छलफल हुन बाँकी रहेको छ। तर अहिलेसम्म बोल्नु भएका केन्द्रीय सदस्यहरूले उहाँको प्रतिवेदन र प्रतिवेदन ल्याउने तरिकाप्रति खासै सकारात्मक छैनन्। उहाँको व्यवहारले गर्दा अन्तरवस्तु छायामा पर्यो,’ उनले भने।
रास्वपाको केन्द्रीय समिति बुधबार बिहान ८ः३० बजेदेखि सुरू भएको थियो।
यसबीचमा महामन्त्री ढकालले पार्टी निर्माणका लागि सय दिनको पूरक प्रस्ताव ल्याएका थिए। त्यो प्रतिवेदन सभापति रवि लामिछानेलाई प्रस्तुत गर्न नदिएको भन्दै महामन्त्री ढकालले विरोध जनाएका थिए।
यस्तै ढकालले समीक्षा प्रतिवेदनमाथि छलफल हुँदा केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए। उनको माग सभापति लामिछानेले बैठक समक्ष राखेका थिए। तर सबै केन्द्रीय सदस्यले अस्वीकार गरेको सहप्रवक्ता झाले बताए।
‘महामन्त्रीज्यूले प्रतिवेदन गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो। त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उनकै उपस्थितिमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीज्यूले हुबहु वाचन गर्नुभयो,’ उनले भने।
झाले प्रतिवेदनमाथि छलफल सकिएपछि बुधबार नै महत्त्वपूर्ण विषयमा निर्णय लिइने बताए। बुधबार निर्णय गर्न नभ्याइएको विषय पदाधिकारीमा छलफल हुने उनको भनाइ छ।