काठमाडौं, असार १९– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला-नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।
यसअघि पानी नपर्दा खोलानाला सुकेर विद्युत् उत्पादन ह्वात्तै घटेकोमा पछिल्ला दिनमा विद्युत् उत्पादन बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मंगलबारसम्म पिक आवरमा विद्युत् उत्पादन २ हजार ५०० मेगावाट पुगेको छ ।
- ADVERTISEMENT -
तीन हप्ताअघि अर्थात जेठ मसान्तमा विद्युत् उत्पादन घटेर एक हजार ७०० मेगावाटमा झरेको थियो । देशभर बढेको गर्मीका कारण प्राधिकरणलाई त्यतिबेला लोड धान्न निकै सकस परिरहेको थियो । तर, अहिले भने लोड व्यवस्थापन सहज हुँदै आएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
- ADVERTISEMENT -
गर्मी केही कम हुँदै गएको र दैनिक वर्षा भइरहेकाले विद्युत् खपतमा समेत कमी आएको प्राधिकरणले जनाएको छ । जेठ मसान्ततिर पिक आवरमा २ हजार ३०० मेगावाट बिजुली खपत हुने गरेको थियो । अहिले भने विद्युत् खपत एक हजार ४५० मेगावाटसम्म झरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
- ADVERTISEMENT -
‘देशभर फैलिएको वर्षाले खोला-नालामा पानीको बहाव बढ्दा विद्युत् उत्पादन पनि केही बढ्न थालेको छ । गत मंगलबारसम्म हेर्दा पिक आवरमा विद्युत् लोड २५०० मेगावाट पुगेको देखिन्छ,’ उनले भने, ‘खपत लोड केही घटेको छ ।’
वर्षाका कारण विद्युत् उत्पादन अझै बढ्नेछ । हाल प्राधिकरणको कुल जडित क्षमता तीन हजार २५० मेगावाट हाराहारी छ । कतिपय जलविद्युत् आयोजनामा बाढी र पहिरो बस्दा विद्युत् उत्पादन समेत हुन नसकिरहेको प्राधिकरणले जनाएको छ ।
झन्डै तीन महिनादेखि बाढीका कारण बिग्रेका ७३ मेगावाटको मध्य तमोर र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना अहिलेसम्म मर्मत हुन सकेको छैन । जसकारण ती आयोजनाको बिजुली प्रसारण प्रणाली बाहिर छ ।विद्युत उत्पादन बढ्न थालेसँगै भारतबाट आयात हुने बिजुली कटौती गरिएको प्राधिकरणले जनाएको छ । हाल १५० देखि २०० मेगावाटसम्म मात्र बिजुली आयात भइरहेको छ ।खपत घट्न थालेको र क्रमशः विद्युत उत्पादन बढेकाले आगामी साउनदेखि विद्युत निर्यात गर्ने लक्ष्य समेत रहेको घोषले बताए ।
स्वदेशमा खपत भएर बाँकी रहने बिजुली भारत निर्यात गरिने उनले बताए । यसअघि प्राधिकरणले ४०० मेगावाट बिजुली भारत निर्यातका लागि स्वीकृति पाइसकेको छ ।
नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (रन अफ दि रिभर-आरओआर) प्रकृतिका छन् । बर्खा लागेसँगै ती आयोजनाबाट विद्युत् उत्पादन बढ्छ भने हिउँद लागेपछि उत्पादन दुई तिहाइले घट्ने गरेको छ ।
बिजुली खेर जाने चिन्तामा प्रवर्द्धक बर्खा यामका कारण अधिकांश जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्दा कुल जडित क्षमता अनुसारकै बिजुली उत्पादन हुन्छ ।
खासगरी नेपालमा बर्खायामकै बेला बिजुली उत्पादन बढ्छ । तर, प्राधिकरणले बनाएको प्रसारण लाइन र वितरण प्रणालीले नधान्दा ऊर्जा प्रवर्द्धकमा बिजुली खेर जाने चिन्ता बढेको हो । विगतमा पनि बर्खा यामका बेला २५० देखि ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो ।
बिजुली खेर जाँदा प्रवर्द्धकलाई प्रत्यक्ष नोक्सान हुने हुँदा उनीहरूले पटक-पटक प्राधिकरणलाई निर्माणधीन प्रसारण लाइन छिटोभन्दा छिटो सम्पन्न गरिदिन ताकेता गर्दै आएका छन् ।
कतिपय जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगे पनि प्रसारण लाइन नहुँदा बिजुली खेर जाने अवस्था रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इप्पान) नेपालका उपाध्यक्ष मोहन डाँगी बताउँछन् ।
यस पालीको बर्खायाममा प्राधिकरणले प्रसारण लाइन नबनाएको र वितरण प्रणाली सुदृढ नभएकाले गत वर्षभन्दा कम्तीमा ५०० मेगावाटसम्म बढी बिजुली खेर जान सक्ने सम्भावना रहेको उनको भनाइ छ ।