काठमाडौँ,असार१९- काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी तथा सामुदायिक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । महानगरभित्र सञ्चालित निजी तथा सामुदायिक गरी ५२ वटा अस्पताल छन् । ती सबै अस्पताललाई गत जेठ २३ गते सूचना जारी गर्दै १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरले निर्देशन दिएको थियो ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -
तर २७ दिन बितिसक्दा पनि महानगरको अल्टिमेटमलाई अस्पतालहरूले बेवास्ता गरेको पाइएको छ । महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार ५२ वटामध्ये १५ वटा अस्पतालले मात्रै सो निर्देशन पालना गरेका छन् । अझै ३७ वटा अस्पतालले महानगरको निर्देशन मान्न आनाकानी गरेको महानगरको स्वस्थ्य विभागकी निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन् ।
- ADVERTISEMENT -
नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२, अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र सर्वोच्च अदालतबाट २०७४ असोज २ मा भएको आदेश समेतका आधारमा अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको महर्जनको भनाइ छ ।
‘महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिएको पाइको छ,’ उनले भनिन्, ‘हामीले सूचना निकालेका थियौँ, एक पटक हामीले अनुरोध ग¥यौँ । अब एक पटक फेरि पत्र पठाएर वा फोन कल गरेर फलोअप गर्छौं ।’
सरकारी अस्पतालमा लगभग सबैको आफ्नै फार्मेसी छ । तर निजी अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी नभएको महर्जनले बताइन् । ‘हाम्रो क्षेत्राधिकार भनेको २५ शय्याको अस्पतालको फार्मेसीलाई नियमन गर्न मिल्छ,’ उनले भनिन्, ‘२५ शय्यामाथिको अस्पताल प्रदेश र संघ अन्तर्गतको क्षेत्राधिकारमा पर्छ । तै पनि हामी ताकेता गर्छौं ।’