काठमाडौं, असार १९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले समीक्षा प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्न नपाएको बताएका छन्।
सचिवालयको मंगलबार बसेको बैठकमा महामन्त्री मुकुल ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो।
- ADVERTISEMENT -
तर, बुधबार बिहानबाट सुरू भएको बैठकमा पार्टी सभापति रवि लामिछानेले सचिवालयको निर्णयविपरीत प्रस्ताव पेस गर्न नदिएको महामन्त्री ढकालले बताए।
- ADVERTISEMENT -
प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरिएको ढकालले बताएका छन्।
- ADVERTISEMENT -
प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने निर्णय भएको थियो।त्यही आधारमा मैले लिखित प्रस्ताव तयार पारेको थिएँ,’ ढकालले सेतोपाटीसँग भने, ‘तर आजको केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव पेस गर्ने अनुमति सभापतिले दिनु भएन। प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ।’
रास्वपामा पार्टी सभापति रवि लामिछाने र महामन्त्री डा. ढकालबीच अन्तरविरोध चर्किएर गएको छ।
महामन्त्री ढकालले आजको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका थिए। तर सभापति लामिछानेले सुनुवाइ नगरेको भन्दै बैठकमा मुखमा टेप लगाएर प्रस्तुत भएका थिए।
बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भनेका छन्।
महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।
महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।
त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छदफल थालेको हो।
यसैबीच महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै स्पष्टीकरणसमेत सोधेको छ।ढकालले सत्य उजागर गर्दा आफ्नो महामन्त्री पदको मृत्युसमेत हुनसक्ने बताएका थिए।
महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो।
यसैबीच रास्वपाले परिवर्तित राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्दैछ। सोमबार राति नेपाली (कांग्रेस) र नेकपा (एमाले) का बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।
सहमतिअनुसार नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार साँझसम्मको समय मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।प्रधानमन्त्री प्रचण्डले मार्ग प्रशस्त नगर्ने र सदनबाट विश्वासको मत लिने बताइसकेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको पनि मंगलबार सचिवालय बैठक बसेको थियो। सचिवालय बैठकले रास्वपा कांग्रेस–एमाले गठबन्धनको सरकारमा सामेल नहुने निर्णय गरेको थियो।
यसबारे पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ। केन्द्रीय कमिटी बैठक अहिले स्थगित गरिएको छ। खाना खानका लागि बैठक केही बेर स्थगित गरिएको महामन्त्री ढकालले बताए।