भरतपुर, असार १४- राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा चितवनका १६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । जिल्लाका २ वटा सामुदायिक र ९ वटा संस्थागत विद्यालयका १६ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको शिक्षा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए ।
सामुदायिक विद्यालयतर्फ बालकुमारी कन्या मावि नारायणगढका विद्यार्थी दिव्यप्रकाश झा र चितवन माविका विद्यार्थी विशाल मग्रातीले पनि ४ जिपिए ल्याएका छन् । पढाईमा अब्बल रहेका झा असल र मिहिनेती स्वभावका भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद वाग्लेले बताए । झाले विज्ञान विषय लिएर पढ्ने चाहना व्यक्त गरे । उनका बुवा नवीनकुमार झा नारायणगढस्थित पशुपति ट्रान्सपोर्टमा काम गर्छन् ।
- ADVERTISEMENT -
![Advertisement](https://aarushikhabar.com/wp-content/uploads/2024/12/32.jpg)
चितवन माविका मग्राती कक्षामा उत्कृष्ट विद्यार्थी रहेको विद्यालयका सहायक प्रधानाध्यापक विश्व बास्तोलाले बताए । मग्रातीले ४ जिपिए आउनेमा आफू विश्वस्त रहेको बताए । उनले जीव विज्ञान विषय लिएर चितवनमै पढ्ने योजना रहेको सुनाए । गोरखामा जन्मिएका उनी पाँच कक्षासम्म त्यहीँको विद्यालयमा पढेका हुन् । चितवन आएर आदर्श मावि दिव्यनगरमा कक्षा ६ र ७ पढेका उनी कक्षा ८ देखि चितवन माविमा भर्ना भएका थिए ।
- ADVERTISEMENT -
![Advertisement](https://aarushikhabar.com/wp-content/uploads/2025/01/panjikaran_Ratnanagar.jpg)
४ जिपिए ल्याउनेमा भरतपुर–७ स्थित अर्किड स्कुलका विद्यार्थी किञ्जल खरेल र प्रज्ज्वल अर्याल, भरतपुर– ११ स्थित नारायणी पब्लिक स्कूलका विद्यार्थी एलिजा सिग्देल र जानवी कँडेल, भरतपुर–२ आँपटारीस्थित स्मल हेभन मोडल स्कुलका प्रशंसा पराजुली र अंकुर मिश्रा, भरतपुर–३ स्थित लिटिल फ्लावर इङ्लिस स्कुलका सुस्मिता अधिकारी र सिसम खनाल, खैरहनी नगरपालिका–८ स्थित डेजी स्कुलका आर्यन अधिकारी र सुगम गौतम रहेका छन् ।
- ADVERTISEMENT -
![Advertisement](https://aarushikhabar.com/wp-content/uploads/2025/01/IMG-20241219-WA00041.jpg)
त्यसैगरी भरतपुर–८ शरदपुरस्थित पोलर स्टार आवासीय माविकी आँचल देवकोटाले पनि ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक दयानिधि अर्यालले बताए । देवकोटा मेधावी र लगनशील छात्रा भएको प्रधानाध्यापक अर्यालले बताए । देवकोटाले आफूले ४ जिपिए ल्याउने आशा गरेको र आशा अनुरुप नै नतिजा आएकोमा खुसी लागेको बताइन् । सुरुदेखि नै यसै विद्यालयमा पढ्दै आएकोले अब पनि कक्षा ११ मा विज्ञान विषय लिएर यसै विद्यालयमा पढ्ने उनले बताइन् ।
- ADVERTISEMENT -
![Advertisement](https://aarushikhabar.com/wp-content/uploads/2024/12/121.jpg)
भरतपुर–१० स्थित अरोमा इङ्लिस स्कुलकी संहिता सुवेदीले ४ जिपिए ल्याएको प्रधानाध्यापक शेरबहादुर केसीले बताए । त्यसैगरी रत्ननगर नगरपालिका– २ स्थित पञ्चकन्या विद्या मन्दिरका विद्यार्थी कुशल पाण्डेले ४ जिपिए ल्याएको शिक्षक दीपेन्द्र पौडेलले बताए । त्यसैगरी रत्ननगरकै स्काइराइडर स्कुलका संयोग देवकोटाले पनि ४ जिपिए ल्याएको स्कुलका प्रधानाध्यापक मदन पुरीले जानकारी दिए ।
स्मल हेभन मोडल स्कुलकी प्रशंसाले ४ जिपिए आउने अलिअलि आशा रहेको बताइन् । उनले सकेसम्म चितवनमै विज्ञान विषय लिएर ११ कक्षा पढ्ने चाहना सुनाइन् । उनका बुवा वसन्त पराजुलीले छोरी प्रशंसा पढाई सँगसँगै अतिरिक्त कृयाकलापमा पनि क्रियाशील रहेको बताए । छोरीको नतिजा उत्कृष्ट आउनेमा आफू आशावादी रहेको र सोही अनुरुप अहिले नतिजा आएको पराजुलीको भनाइ थियो ।
डेजी स्कुलका प्रिन्सिपल प्रेम रिमालले ४ जिपिए ल्याउन सफल आर्यन र सुगम मिहिनेती विद्यार्थी रहेको र उनीहरु दुवै जनामा उमेर अनुसार चञ्चले स्वभाव नरहेको बताए ।
चितवन जिल्लामा २ सय ३३ विद्यालयबाट कुल १० हजार ८ सय ३२ जना विद्यार्थी एसइई परीक्षामा सहभागी थिए । सहभागी विद्यार्थीमध्ये ५५ दशमलव ७६ प्रतिशत अर्थात् ६ हजार ४१ जना उत्तीर्ण भएका छन् ।
गत वर्ष चितवनमा ६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । यस्तै, जिल्लामा ‘ए’ प्लस ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ९२ रहेको छ । यो संख्या अघिल्लो वर्षभन्दा ४ सय ८१ जनाले बढी हो । ‘ए’ ग्रेड ल्याउनेको संख्या १ हजार ९ सय ९९ रहेको छ । अघिल्लो वर्ष १ हजार ५ सय ९९ जना रहेको थियो ।