हेटौँडा,असार १ – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा गरेका हुन् । यसको लागि एक करोड ६१ लाख रूपैयाँ विनियोजन गरेको उनको भनाइ छ ।
- ADVERTISEMENT -

आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै वातावरणमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकारले काम गर्ने बताए । बागमती सरकारले प्रदेशलाई वातावरणमैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्न डेढ करोड रूपैयाँभन्दा बढी रकम विनियोजन गरेको उनको भनाइ छ ।
- ADVERTISEMENT -

यसका लागि वातावरण सम्मेलनदेखि, प्रमुख सहरका राजमार्ग र सडकछेउछाउमा वृक्षरोपणलगायतका योजना अघि सारेको छ ।
- ADVERTISEMENT -

उच्च तापक्रम तथा जलवायु परिवर्तनका कारण तराईका खानेपानी मुहान सुक्ने जोखिम रोक्न चितवनका विभिन्न स्थानमा जलाधार संरक्षण गर्न आवश्यक रकम विनियोजन भएको मन्त्री थपलियाले बताए । उनले वन तथा वातावरण मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोड विनियोजन गरेको बताए ।
- ADVERTISEMENT -

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड चार लाख रूपैयाँको बजेट ल्याएको हो । चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रूपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रूपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेका छन् ।
प्रदेश सरकारले कुल विनियोजनको चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।
आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रूपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रूपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रूपैयाँ, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रूपैयाँ अनुमान गरिएको छ ।